इटहरीः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रियसभामा भएको मनोनयन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको मुद्दामाथि आज बुधबार संवैधानिक इजलासमा हुने भएको छ ।

गत असोज ७ गते सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजालसले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिने अन्तरिम आदेश जारी गर्दै मुद्दा संवैधानिक इजालसमा पठाएकोमा आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ५ न्यायाधीशको संवैधानिक इजलासमा बहस हुन लागेको हो । प्रधानन्यायाधीशसहितको पूर्ण इजालसमा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा सहभागी रहनेछन् ।

२०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएका गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनित गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई मन्त्रिपरिषद्ले राष्ट्रिय सभा सदस्यमा गरेको सिफारिस र राष्ट्रपतिबाट भएको मनोनयन बदर गर्न अन्तरिम आदेश, मन्त्री नबनाउन प्रतिषेधको आदेश र राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि मापदण्ड जारी गर्न परमादेश माग गरेर रिट दायर गरेका थिए ।