इटहरीः शंकरदास बैरागी सरकारले मुख्यसचिवमा नियुक्त भएका छन् ।
आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र सचिव बैरागीलाई मुख्यसचिवको जिम्मेवारी दिएको हो । बेलायतको राजदूतमा नियुक्ति पाउनका लागि मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएपछि रिक्त स्थानमा सरकारले बैरागीलाई ल्याएको हो । यसैबीच, सरकारले रेग्मीलाई बेलायतको राजदूतका रुपमा जिम्मेवारी दिन सिफारिस गर्ने भएको छ ।
यसैगरी, पूर्वअर्थमन्त्री युवराज खतिवडाले अमेरिकाको राजदूतका रुपमा नियुक्ति पाएका छन् । बैरागीलाई मुख्यसचिव बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना अनुसार रेग्मीलाई राजीनामा गराई बेलायतको राजदूतमा नियुक्ति दिइएको हो । बैरागीले मुख्यसचिवमा नियुक्ति नपाए आगामी असोज २१ ग्ते अवकाश प्राप्त गर्न लागेका थिए । रेग्मीले अहिले राजीनामा नदिएर असोज २२ पछि मात्र दिएको भए चन्द्र घिमिरे, विश्वनाथ ओली र मधुसुदन अधिकारी मुख्यसचिवको दावेदार बन्न पाउने थिए ।
तर रेग्मीले राजीनामा गरी बैरागीका लागि मार्ग प्रशस्त गरिदिएपछि उनीहरुको बाटो छेकिएको हो । खतिवडा भने प्रधानमन्त्री ओलीको संरक्षणमा अर्थमन्त्री र सरकारका आर्थिक सल्लाहकार हुँदै अमेरिकाका लागि नेपाली राजदूत नियुक्त भएका हुन् । यसअघि पनि खतिवडाले राष्ट्र बैंकको गभर्नर, दुई पटक राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, राष्ट्रिय सभाको सदस्य, अर्थमन्त्रीजस्ता सरकारका महत्वपूर्ण पदमा बस्ने मौका पाइसकेका छन् । संसदीय सुनुवाइ सम्पन्न भएपछि खतिवडा र रेग्मीले राष्ट्रपतिबाट नियुक्ति प्राप्त गर्नेछन् ।