इटहरीः नेपाल नागरिक उड्डयन प्राधिकरणले आज बिहीबारदेखि आन्तरिक उडानको संख्या थप गर्न निजी वायुसेवा कम्पनीलाई अनुमति दिएको छ । यात्रुको चाप बढेको भन्दै उडान संख्या बढाउनुपर्ने निजी वायुसेवा कम्पनीको माग सरकारले सम्बोधन गरेको हो ।

प्राधिकरणबाट अनुमति पाएसँग आठ निजी वायुसेवा कम्पनीका जहाजले दैनिक ७४ वटा उडान गर्ने भएका छन् । ६ महिनासम्म ठप्प रहेका कम्पनीहरुले गत असोज ५ गतेदेखि उडान संख्या २५ प्रतिशतमा सीमित गरी सेवा सुरु गरेका थिए । यसअघि दैनिक १८ वटा उडान भर्दै आएको बुद्ध एयरले आजदेखि सबैभन्दा बढी दैनिक २९ वटा उडान भर्ने भएको छ । यस्तै यति एयरलाइन्सलाई दैनिक १९ वटा उडानको अनुमति पाएको छ । त्यसैगरी श्री एयरले १२, तारा, समिट र सिता एयरले ४र४ तथा सिम्रिक र सौर्य एयरले २-२, उडानको अनुमति पाएका छन् । सिम्रिकको काठमाडौं–पोखरा दैनिक २ उडान रहेको छ । तारा एयरको काठमाडौंबाट लुक्ला दैनिक ३ उडान, फाप्लु हप्तामा ३ उडान गर्नेछ । यसैगरी सीता एयरले काठमाडौंबाट दैनिक ताप्लेजुङ २ उडान र लुक्ला दैनिक १ उडान गर्नेछ ।

समिट एयरले काठमाडौं–लुक्ला दैनिक २ उडान र जोमसोम हप्तामा ५ वटा उडान गर्नेछ । अक्टोबर महिनाभरका लागि उडान तालिका तय गरेको जनाउँदै प्राधिकरणले परिस्थिति अनुरुप तालिका परिवर्तन गर्न सकिने जनाएको छ ।