तेह्रथुमः नेपाल विद्युत प्राधिकरणबाट २ हजार २ सय ११ रुपैयामा उपलब्ध हुने मिटर बक्सलाई नियम विपरित आठराईमा प्राधिकरण कै कर्मचारीले एउटा मिटरबक्सलाई ३ हजार ८ सय रुपैयामा बिक्रि गरेका छन् । नेपाल विद्युत प्राधिकरण तेह्रथुम वितरण केन्द्रको आठराई फियुज सेवाका प्रमुख विरेन्द्र सरदारले एउटा मिटरबक्सलाई ३ हजार ८ सय रुपैया लिएर उपभोक्ताहरुलाई बिक्रि गरेको स्वीकार गरेकाछन् ।

आठराई फियुज सेवाका प्रमुख सरदारका अनुसार मिटरबक्सलाई २ हजार २ सय ११ रुपैया, जडान खर्च ५ सय रुपैया, मिटरबक्समा लाग्ने एमसिविको ७ सय रुपैया र ३ सय ८९ रुपैया ढुवानी खर्च र फारम संकलन गर्ने व्यक्तिहरुको भत्ता सहित गरेर ३ हजार ८ सय रुपैया लिएर उपभोक्तालाई मिटरबक्स उपलब्ध गराएको बताए ।

नेपाल विद्युत प्राधिकरण तेह्रथुम वितरण केन्द्रका अनुसार उपभोक्ताले एउटा मिटर बक्सको २ हजार २ सय ११ रुपैया मात्र तर्नु पर्छ । मिटरको १ हजार ७ सय १२ रुपैया ३९ पैसा, सिलको १ सय रुपैया, आवेदन फारमको ५० रुपैया, सेवा शुल्क १०० रुपैया र भ्याट २ सय ४८ रुपैया ६१ पैसा गरी एउटा मिटर सेटको जम्मा २ हजार २ सय ११ रुपैया मात्र उपभोक्तले तिनु पर्ने हुन्छ ।

मिटरबक्स जोड्दा कुनै पनि उपभोक्ताले जडान शुल्क तिर्नु नपर्ने विद्युत प्राधिकरण तेह्रथुम वितरण केन्द्रका प्रमुख प्रेमबहादुर भण्डारीले बताए । प्राधिकरणका कर्मचारीको सम्पूर्ण खर्च प्राधिकरणले गर्नुुपर्ने नियम रहेको र नियम विपरित उपभोक्तहरुबाट कुनै पनि शुल्क लिन नापाइने प्रमुख भण्डारीले बताए ।

आठराई फियुज सेवाको कार्यालयमा दुई जना मात्र कर्मचारी भएको र दुईजना कर्मचारीले सबै काम गर्न नसक्ने भएकाले आपैmले राखेका ११ जना कमदारलाई पारीश्रमिक दिनको लागि उपभोक्ताहरुबाट अतिरिक्त शुल्क लिएको फियुज सेवा आठराईका प्रमुख सरदारको भनाई छ । कर्मचारीलाई व्यक्तिगत कामदार नियुक्ति गर्न कुनै कानुनले अधिकार नदिएको प्राधिकारण तेह्रथुमले जनाएको छ ।

मिटरबक्समा लाग्ने एमसिबि पनि फियुज सेवाका कर्मचारीले नै स्थानीय बजार मूल्य भन्दा बढी शुल्क लिएर उपभोक्तालाई बिक्रि गर्ने गरेका छन् । स्थानीय बजारमा २ सय ५० देखी ४ सय मुल्य पर्ने एमसिबीलाई फियुज सेवा आठराईका प्रमुख सरदारले ७ सय मूल्यमा बिक्रि गरेको बताए ।

गाउँमा मिटरबक्सको आवेदन फारम संकलन गर्न फियुज सेवा आठराईले विभिन्न समिति बनाएको जनाएको छ । गाउँमा बनेका समितिले नै आवेदन फारम र मिटरबक्सको ३ हजार ८ सय रुपैया संकलन गरेर फियुज सेवा कार्यालय सम्म ल्याउने गरेको बताइएको छ ।

आठराई गाउँपालिका वडा नं ६ चुहानडाडामा भने वडा कार्यालयबाट नै मिटरबक्सको ३ हजार ८ सय रुपैया र आवेदन फारम संकलन भएको स्थानीय रामचन्द्र थपलियाले बताए । मिटरबक्सको मूल्य ३ हजार ८ सय रुपैया नै भनेपछि वडा कार्यालयमा उक्त शुल्क र आवेदन फारम बुझाएको थपलियाको भनाई छ ।

वडामा आएको सबै आवेदन फारम र मिटरबक्सको ३ हजार ८ सय रुपैया सम्बन्धित प्राधिकरणका कर्मचारीलाई बुझाँएको वडा सचिव सुन्दर कन्दङवाले जनकारी दिए । उपभोक्ताहरुले तिरेको ३ हजार ८ सय रुपैयाको बिल अहिले पनि पाएका छनैन् ।

आर्थिक वर्ष २०७६/०७७ मा आठराई गाउँपालिका वडा नं १ संक्रान्तिबजारमा १०० घर, वडा नं २ खाम्लालुङमा ११० घर, वडा नं ४ ईवामा ४५ घर, वडा नं ५ छातेढुङ्गामा २५० घर र वडा नं ६ चुहानडाँडामा १५० घर गरी ६५५ घरमा मिटर बक्स जोडिएको आठराई फियुज सेवाले जनाएको छ । आठराईमा तेह्रथुमको जिरीखिम्ती सवस्टेसन हुदै मिन्छायेम गाउँपालिकाको मोराहाङ फिडरबाट ११ केभी विद्युत लाईन विस्तारको काम भईरहेको छ ।