इटहरीः मोरङको विराटनगर महानगरपालिकाले जग्गाको कारोबार फुकुवा गर्ने उद्देश्यले भू–उपयोग नीति कार्यान्वयनको प्रकृया सुरु गरेको छ ।

महानगरपालिकाका १९ वटै वडा क्षेत्रभित्रको जमिनलाई आवास, व्यवसायिक, कृषि, आौद्योगिक, खोला तथा नदी, वन, आदिमा वर्गीकरण गरी बसोबास व्यवस्थित गर्न लागेको हो । भू–उपयोग ऐन–२०६६ अनुसार महानगरपालिकाको वडा नम्बर १, २, ३, ७, ८, ९, र १० का अघिकांश भूभागलाई आवास तथा व्यवसायिक क्षेत्रको रुपमा वर्गीकरण गर्न लागेको छ । महानगरलाई प्राप्त सुझाव अनुसार वडा नम्बर ४, ५, ६, ११, १२, र १३ का करिब दुई तिहाई भूभागलाई आवास तथा व्यवसायिक क्षेत्र र बाँकीलाई कृषि तथा उद्योग क्षेत्रमा वर्गीकरण गर्ने भएको छ ।

महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार् महानगरले आवश्यक जनसंख्या र आम्दानीको मापदण्ड पुरा गर्न पनि बसोबास बढाउनुपर्ने आवश्यकता महसुस गरेको हो । २०६८ सालको जनगणना अनुसार विराटनगर महानगरको जनसंख्या २ लाख १४ हजार छ । गत आर्थिक वर्ष २०७६र७७ मा महानगरपालिकाले ३१ करोड मात्र आम्दानी गरेको थियो । मापदण्ड अनुसार महानगरको जनसंख्या तीन लाख र वार्षिक आय ४० करोड हुनुपर्ने स्थानीय तह पुनर्संरचना प्राविधिक समितिले तोकेको थियो । हाल महानगरमा ४८ हजार घरधुरी रहेकोमा भू–उपयोग नीति कार्यान्वयनमा आएपछि घरजग्गा कारोबार विस्तार भई जनसंख्या बढ्ने महानगरको आँकलन छ ।