इटहरीः धनकुटा नगरपालिकाले वडा न. १० स्थित मनोकामना दुग्ध उत्पादक सहकारी संस्थाका किसानलाई अन्य संघ–संस्थाको समन्वयमा हिजो आइतबार टेम्पो हस्तान्तरण गरेको छ ।

dhankuta tempo

पर्डेप नेपालद्वारा आयोजित एक कार्यक्रमका बीच गरिबी निवारण तथा ग्रामिण विकास कार्यक्रमअन्तर्गत आठ ओटा प्लाष्टिक टनेल र एउटा टेम्पो मेयर चिन्तन तामाङले हस्तान्तरण गरेका थिए । हस्तान्तरणपछि मन्तव्य राख्ने क्रममा मेयर तामाङले टनेल र टेम्पो कृषकको आर्थिक अवस्था उकास्नका लागि उपयोगी हुने बताए । व्यवस्थित रुपमा कार्यविधि अनुसार चलाउन सके यसले उत्पादित वस्तुको बजारीकरणमा किसानलाई फाइदा हुने उनको भनाइ थियो । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले गएका वर्षमा पनि युएनडिपीसँग सहकार्य गरी नगरपालिकाले नमूना गाउँ वनाउने अभियान सञ्चालन गरेको जानकारी दिँदै यो वर्ष पनि युएनडिपी र पर्डेप नेपालसँग सहकार्य गरी कोभिड–१९ नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको बताए ।

पर्डेप नेपालका कार्यक्रम संयोजक मिन प्रसाद सुवेदीका अनुसार पाँच लाख ६० हजारको लागतमा खरिद गरिएको टेम्पोका लागि संस्थाले चार लाख ६० हजार रुपैयाँको योगदान गरेको बताए । बाँकी रकम किसानबाट संकलन गरिएको उनको भनाइ थियो । मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष विपेन्द्र दाहालले सहकारीमा दैनिक २ सय देखि २ सय ५० लिटर सम्म दुग्ध संकलन हुने गरेका बताउँदै स आफूहरुले पाएको टेम्पो कार्यविधि बनाएर सञ्चालन गर्ने बताए ।