चितवन- चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्यांकअनुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको हो । निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगायत जंगली जनावरले आक्रमण गर्दा पछिल्लो तीन वर्षमा ३६ जनाले ज्यान गुमाएका छन् । पछिल्लो तीन वर्षको अवधिमा जनावरको आक्रमणबाट आर्थिक वर्ष २०७५÷७६ मा सबैभन्दा बढी मानवीय क्षति भएको छ । सो आवमा वन्यजन्तुको आक्रणमा परी २२ जनाको मृत्यु हुनुका साथै एक सय जना २० घाइते भएका थिए । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अशोक रामका अनुसार आव २०७४÷७५ मा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु तथा ३२ जना घाइते भएका थिए ।

त्यस्तै आव २०७६÷७७ मा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या नौ तथा घाइतेको संख्या ३४ रहेको सूचना अधिकारी रामले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जबाट जनावर सजिलै मध्यवर्ती क्षेत्रमा प्रवेश गर्ने र मानिससँग भेट हुँदा उनीहरुले आक्रमण गर्ने गरेका उनले बताए । मानव–वन्यजन्तु द्वन्द्व बढेपछि यसको नियन्त्रणका लागि निकुञ्जले मध्यवर्ती क्षेत्रमा करेन्टको झड्का तथा मेसजाली लगाउन थालेको छ । ‘निकुञ्जका जनावर बस्तीमा प्रवेश रोक्नका लागि सबैभन्दा प्रभावकारी आरसिसी पर्खाल भएको छ,’ सूचना अधिकारी रामले भने, ‘यो धेरै खर्चिलो भएकाले निकुञ्जले मेसजाली तथा झड्का लगाउन सहयोग गर्ने गरेको छ ।’ विद्युतीय झड्काबाट वन्यजन्तुलाई क्षति नहुने भन्दै उनले त्यो विद्युतीय झड्का नाघेर जनावर बस्तीमा पस्न नसक्ने बताए ।

करिब छ करोड राहत वितरण
निकुञ्जका जनावरबाट हुने मानवीय क्षतिका लागि बर्सेनि राहत प्रदान गरिँदै आएको सूचना अधिकारी अशोक रामले बताए । उनका अनुसार पछिल्लो तीन वर्षमा जनावरका कारण मृत्यु भएका तथा घाइते भएका व्यक्तिको परिवारलाई करिब छ करोड राहत प्रदान गरिएको छ । आव २०७४÷७५ देखि आव २०७६÷७७ सम्म वन्यजन्तुको आक्रमणबाट भएको मानवीय क्षतिवापत निकुञ्जले राहतस्वरुप पाँच करोड ९० लाख ९६ हजार ६ सय ४४ प्रदान गरेको रामले बताए । निकुञ्जले आव २०७४÷७५ मा मृत्यु भएका पाँच जनाको परिवारलाई प्रतिपरिवार १० लाखका दरले ५० लाख राहत उपलब्ध गराएको थियो । त्यस्तै निकुञ्जका जनावरबाट घाइते भएका व्यक्तिको उपचार खर्चसमेत निकुञ्जले व्यहोर्दै आएको छ । सो आवमा जनावरबाट घाइते भएका ३२ व्यक्तिको उपचार खर्चवापत २२ लाख २४ हजार चार सय ५० पीडित परिवारलाई उपलब्ध गराइएको उनको भनाइ छ ।

जंगली जनावरको आक्रमणबाट व्यक्तिको मृत्यु भएमा निकुञ्जले १० लाख तथा घाइते भएमा उपचार खर्च उपलब्ध गराउँदै आएको सूचना अधिकारी रामले बताए । आव २०७५÷७६ मा जंगली जनावरका आक्रमणबाट मृत्यु भएका २२ जनाको परिवारलाई निकुञ्जले राहतस्वरुप दुई करोड २० लाख उपलब्ध गराएको छ । त्यस्तै घाइते भएका व्यक्तिको उपचार खर्चवापत एक करोड ११ लाख ९५ हजार पाँच सय १६ प्रदान गरिएको रामको भनाइ छ । अघिल्लो आव २०७५÷७६ मा भन्दा गत आव २०७६÷७७ मा मानव–वन्यजन्तु द्वन्द्व घटेको तथ्यांकले देखाएको छ । निकुञ्जको जनावरबाट हुने क्षति घटेसँगै राहत रकमसमेत घटेको सूचना अधिकारी रामले बताए । गत आव २०७६÷७७ मा जनावरबाट मृत्यु भएका नौ जनाको परिवारलाई ९० लाख तथा घाइते भएका ३४ जनाको उपचार खर्चवापत छ लाख ७६ हजार ६ सय ७८ प्रदान गरिएको उनको भनाइ छ ।

सबैभन्दा बढी क्षति चितवनमा
निकुञ्जको जनावरका कारण सबैभन्दा बढी क्षति चितवनमा भएको छ । निकुञ्जबाट निस्किएका जनावरले आक्रमण गर्दा मृत्यु हुने ३६ मध्ये ३४ वटा घटना चितवन जिल्लाको तथा दुई घटना नवलपरासीको भएको निकुञ्जले जनाएको छ । त्यस्तै घाइते भएका २५६ घटनामध्ये दुई सय १२ वटा चितवन, ३६ नवलपरासी, तीनवटा मकवानपुर, दुईवटा सर्लाही र एउटा पर्सामा भएका घटना हुन् । चालू आव २०७७÷७८ को तीन महिनामा निकुञ्जबाट निस्किएको बाघको आक्रमणले तीनजनाको मृत्यु भइसकेको छ । मृत्यु भएका तीनैजना चितवनका हुन् भने जंगलमा घाँस काट्ने जाने क्रममा उनीहरुलाई बाघले आक्रमण गरेको थियो । यस आवमा ज्यान गुमाउनेको परिवारलाई राहतवापतको रकम भुक्तानी गर्नका लागि प्रक्रिया भइरहेको सूचना अधिकारी अशोक रामले जानकारी दिए । (रासस)