इटहरीः अन्तरपार्टी महिला सञ्जालले बलात्कार, हत्या, बोक्सीको नाममा दिइने यातना र एसिड आक्रमणजस्ता महिला हिंसाका घटना नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सञ्जालकी अध्यक्ष सावित्रा भुसालसहितको टोलीले आज बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासँगको छुट्टाछुट्टै भेटका क्रममा महिला हिंसामा संलग्नलाई हदैसम्मको सजाय दिलाउनका लागि फास्टट्र्याक अदालतबाट त्यस्ता मुद्दाको निष्पक्ष सुनुवाइ गर्न सुझाव दिएको हो ।

सञ्जालले पत्रमार्फत् विधिको शासन स्थापनाका लागि पीडितले न्याय र पीडकले सजाय पाउनुपर्ने माग गरेको छ । सञ्जालको पत्र बुझ्दै सभापति श्रेष्ठ र गृहमन्त्री थापाले महिला हिंसा नियन्त्रणका लागि कानूनी व्यवस्था सुदृढ बनाउन सम्बन्धित निकायलाई समितिले निर्देशन दिएको जानकारी दिएका थिए ।