इटहरीः २०७७ सलाको दशैँ, तिहार, छैठ पर्व, ल्होसार र उधौलि–उभौलि नेपालीको घर आगनसम्म आइपुग्नै लागेको छ । दशैँको लागि सामान जोहो गर्नेको इटहरीका लहर लागेको छ । तर यो वर्ष कोरोना संक्रमणले गर्दा अघिल्ला वर्षहरुमा जस्तो धुमधामका साथ चाडपर्व मनाउने अवस्था छैन् । यद्यपी दशैँमा नै एक जोर नयाँ लुगा फेर्ने चलन नेपाली समाजमा रहेको छ । विजया दशमीको दिन नयाँ नाना लगाएर टिका र आर्शिवाद थाप्ने नेपालीको परम्परालाई कोरोना भाइरसले यो वर्ष नराम्ररी प्रभाव पारेको छ । इटहरीका पसलहरुमा नयाँ कपडाको अभाव देखिएको छ ।

३ महिना लामो लकडाउन र त्यसपछि पटक पटक गरिएको निषेधाज्ञाका कारण सामान आयात गर्न नपाएपछि नयाँ कपडाको अभाव देखिएको हो । सामान आयात नहुँदा इटहरीमा पोहोर साल थन्काइएका सामानले काम चलाउनु पर्ने अवस्था आएको इटहरीका व्यवसायी बताउँछन् । इटहरीका मुख्य बजार हङकङ मार्केट, डि।डि मार्केट, विशाल बजार, सिटि मार्केट लगायतका मुख्य बजार र अन्य बजारमा कपडा तथा अन्य सामान किन्नेको घुँइचो लागे पनि सामान अभाव हुँदा ग्राहक घर फर्किने गरेका व्यवसायीले बताएका छन् ।

यता ग्राहक पनि सोचे अनुरुपको सामान नपाउँदा चिन्तित बनेका छन् । दिन दिनै बजार आए पनि आफूले चाहे अनुसारको सामान नपाउँदा दशैँ नै खल्लो हुने कतिपय सर्वसाधारणको बुझाइ । झन् बालबालिकालाई त दशैँ भन्ने वित्तिकै नयाँ नाना पाउने आशा हुन्छ । यसपलि बालबालिकाहरुले पनि पुरानै ‘डिजाइन’का नाना लाउनुपर्ने भएको छ । अझै दशैँ आउन केहि समय रहेकाले नयाँ कपडा आउने आशामा ग्राहक र व्यवसयी रहेका छन् ।