इटहरीः नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता प्रकृयालाई असोजभित्रै पूर्णता दिन अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल सहमत भएका छन् ।
हिजो बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सचिवालय बैठकको निर्णय र संगठन विभागको कार्ययोजना कार्यान्वयनबारे पनि सहमति भएको बालुवाटार स्रोतले बताएको छ । असोज ६ गतेको सचिवालय बैठकबाट एकताको खाका तयार पार्ने जिम्मेवारी पाएका अध्यक्षद्वयले यसतर्फ कुनै प्रगति नहुँदै म्याद गुजारेका थिए । पार्टीको केन्द्रीय सचिवालयको आगामी बैठकमा मन्त्रिमण्डल पुनर्गठन, रिक्त पदमा राजनीतिक तथा संवैधानिक नियुक्ति, पार्टीको केन्द्रीय संगठन विभागको कार्ययोजना लगायतका विषयमा छलफल हुने सचिवालय स्रोतको भनाइ छ ।
असोज २० गतेको बैठकमा डा. गोविन्द केसीको सत्याग्रहमाथि छलफलका कारण अन्य विषयले स्थान नपाएपछि आगामी बैठकका लागि छलफलको कार्यसूचि तय भएको हो । अध्यक्षद्वयबीच निरन्तर छलफलका बाबजुद सहमति नहुँदा मन्त्रिपरिषद् पुनर्गठन, अख्तियारलगायत निकायमा नियुक्तिजस्ता काम प्रभावित भएका छन् । अर्थ, सञ्चार र शहरी विकास मन्त्रालयको नियुक्ति पनि अध्यक्षद्वयकै कारण हुन सकेको छैन ।