इटहरीः सार्वजनिक यातायातका साधनमा सिट क्षमताको आधा मात्र यात्री राख्न पाउने व्यवस्था सरकारले हटाएको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणबाट बच्ने उद्देश्यले सीमित संख्यामा यात्री राख्नुपर्ने व्यवस्था हटाएपछि सार्वजनिक यातायातका साधनले सबै सिटमा यात्री राख्न पाउने भएका छन् ।क्ष्मता अनुसार सबै सिटमा यात्री राख्न पाइने व्यवस्थासँगै सरकारले यातायात भाडा ५० प्रतिशत बढी लिन पाउने व्यवस्थासमेत खारेज गरेको छ ।

यसबाट बढी भाडा तिर्नुपर्ने यात्रीको बाध्यता हटेको छ । सरकारले नजिकिँदै गरेको दसंँ, तिहारजस्ता चाडपर्वमा यात्रीको बढ्दो चाप र सवारी साधनको उपलब्धताबीच सन्तुलन कायम गरी जनजीवन सहज बनाउन क्षमताको आधा मात्र यात्री राख्न पाउने बाध्यकारी व्यवस्था हटाएको हो । स्वास्थ्य सुरक्षाका मापदण्ड भने कडाइका साथ लागु गरिने सरकारको भनाइ छ ।