इटहरीः झापामा सञ्चालित एक सहकारी संस्थाले हेपाटाइटिसका कारण ज्यान गुमाएकी आफ्नै एक कर्मचारीले लिएको ऋण मिनाहा गरिदिएको छ ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सोही संस्थामा बजार प्रतिनिधिका रुपमा काम गर्ने झापाको मेचीनगर–७ बस्ने सुकमति राजवंशीको मृत्युपछि उनले लिएको ६ लाख २९ हजार रुपैयाँको ऋण मिनाहा गरेको संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले बताए । यसका साथै संस्थाले मृतककी छोरी आरुषीको नाममा तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिने भएको पनि बस्नेतले जानकारी दिए ।

कोषबाट आउने वार्षिक ३३ हजार बराबरको ब्याज रकम उनको शिक्षामा खर्च हुने बस्नेतको भनाइ छ । अध्यक्ष बस्नेतका अनुसार संस्थाले अक्षयकोषको रकम १७ वर्ष उमेर पूरा गरेपछि बालिकालाई नै दिएर उनको खातामा थप मासिक दुई हजार रुपैयाँ जम्मा गरिदिने र २३ वर्षको उमेरमा सात लाख २० हजार रुपैयाँ एकमुष्ट उपलब्ध गराउने भएको छ । १० लाख ४० हजार ऋण लिएकोमा ११ हजाार भुक्तान गरेको अवस्थामा आफ्नो कर्मचारीको ज्यान गएपछि संस्थाले उनलाई दिनुपर्ने चार लाख रुपैयाँ ऋणबापत कटौति गरी बाँकी रकम मिनाहा गरेको हो ।

यसैगरी, संस्थाले मृतकका आफन्तलाई ३० हजार रुपैयाँ किरिया खर्च पनि दिएको छ । चार वर्ष संस्थाको काकडभिट्टा शाखामा काम गरेकी राजवंशीको बी एण्ड सी अस्पतालमा असोज १४ गते मृत्यु भएको थियो ।