इटहरीः इटहरी–५ स्थित जनता क्याम्पस हातामा एक श्रमिक महिलामाथि भएको यौन दुव्र्यवहार गुपचप राखिएको पाइएको छ । जनता क्याम्पसका गार्डले सोही क्याम्पसको क्यान्टिनमा काम गर्ने मधेसी मूलकी महिलालाई बिहान काम गर्न जाँदा यौन हिंसा गरेको भन्दै आएको गुनासोमा क्याम्पसले स्पष्टीकरण मात्रै सोधेको पाइएको छ ।

क्याम्पसका सुरक्षा गार्ड दाहालले श्रमिक महिलालाई भदौ २५ गते बिहान काममा जाँदा गेटमै र गेटभित्र अभद्र व्यवहार गरेको पीडितको गुनासो छ । आफूलाई यौन दुव्र्यवहार गरेको भन्दै उजुरी दिएपछि गार्ड दाहाललाई बिहिवार दिउँसो इटहरी प्रहरीले पक्राउ गरेको छ । क्याम्पस प्रशासनबाट गार्ड दाहाललाई कारबाही गर्ला भनेर २५ दिन कुरेको तर कुनै कारबाही नभएपछि निवेदन दिएको पीडित महिलाले बताइन् ।

क्याम्पसले स्पष्टीकरण सोध्यो, सिसिटिभी फुटेज लुकायो
गार्ड दाहालले यौन दुव्यर्वहार गरेको चर्चा क्याम्सपमा भदौ २५ गते नै चलेको हो । त्यसपछि दाहाललाई क्याम्पस प्रमुख भोजराज श्रेष्ठले स्पष्टीकरण सोधे । स्पष्टीकरणपछि कुनै सजाय नदिइकन नसिहत दिइयो । असोज ४ गते दाहालले लिखित स्पष्टीकरण दिए । असोज ६ गते क्याम्पसले नसिहत दियो ।

कलेज हातामा यौन दुव्र्यवहार गरिएको भिडियो सिसिटिभीमा रेकर्ड पनि भएको थियो । तर, क्याम्पसले यो फुटेज लुकाएको छ । धेरै अगाडिको फुटेज भएकाले हराएको भन्दै प्रहरीले माग्दा पनि क्याम्पसले नभएको जनाएको छ । प्राविधिकहरू भने पुरानो फुटेज पनि निकाल्न सकिने बताउँछन् ।

गार्डको यौन दुव्र्यवहारको मुद्दा बाहिर आउँदा पहिले एक शिक्षकले गरेको यस्तै दुव्र्यवहारको मुद्दा पनि बाहिर आउने भयले क्याम्पसले भिडियो फुटेज लुकाएको स्रोतले बताएको छ ।

स्पष्टीकरण अर्कैमा हो, यौन दुव्र्यवहारको उजुरी नै छैनः क्याम्पस प्रमुख श्रेष्ठ
यौन दुव्र्यवहारको मुद्दाका आरोपित गार्ड दाहाल पक्राउ परे पनि क्याम्पस प्रमुखले भने यौन दुव्र्यवहारको उजुरी आफूमा नआएको बताए । दुव्र्यवहारपछि सोधिएको स्पष्टीकरण र नसिहतको बारेमा बुझ्दा प्रमुख श्रेष्ठले त्यो अर्कै विषयमा भएको बताए । उनले भने, ‘मलाई यौन दुव्र्यवहारको बारेमा कुनै उजुरी आएकै छैन । स्पष्टीकरण सोधिएको विषय अर्कै हो ।’