इटहरीः सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि भीडभाडजन्य गतिविधि तथा स्थानको सञ्चालनमा रोक लगाएपछि बन्द रहेका धार्मिकस्थलहरु कार्तिक १ गतेदेखि सञ्चालनमा आउने भएका छन् ।

सरकारको कुनै सूचना वा निर्देशन नआउँदै धार्मिकस्थलहरु सञ्चालनमा आउन लागेका हुन् । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशे देवीलगायतका शक्तिपीठहरु कात्तिक १ गतेदेखि सञ्चालनको तयारी भएको छ । दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरुको भनाइ छ ।

मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले दशैंको बेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताए । गुठियारहरुको विशेष पूजा जात्रासमेत निकाल्नुपर्ने प्रचलनका कारण मन्दिर खुलाउनुपर्ने उनको भनाइ छ । स्थानीय भक्तजनहरुको आग्रहमा कात्तिक १ गतेदेखि धेरै भीड नहुने गरी भक्तालुका लागि खुला गरिने बताए । कोभिड १९ संक्रमणको जोखिम भएसँगै सरकारले कुनै पनि मन्दिर क्षेत्रमा भक्तालुका लागि पूजाआजा रोक्ने निर्णय गरेको थियो ।