इटहरीः संघीय सरकारले १५ करोडको लागतमा निर्माण सम्पन्न गरी १९ महिनाअघि प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको मोरङको कटहरी गाउँपालिकामा रहेको आधुनिक तरकारी तथा फलफूल बजार प्रयोगविहीन बनेको छ ।

विराटनगरको गुद्री बजारका व्यापारीलाई लक्षित गरी स्थापना गरिएको खुद्रा तथा थोक बिक्री कक्ष, क्यान्टिन, क्लिनिक, बैंक, किसानलाई आराम कक्ष, प्रशासनिक भवन, शौचालय, पार्किङलगायतका पूर्वाधार सहितको बजारमा व्यापारीले पसल चलाउन चासो नदिँदा प्रयोगमा आउन नसकेको हो । ५ बिगाहा २ धुर क्षेत्रफलमा निर्माण गरिएको बजार व्यापारीले विराटनगरमा छुट्टै बजार सञ्चालन गरेपछि सञ्चालन हुन नसकेको हो ।

प्रदेश सरकारले खुलाएको विज्ञापनको समेत व्यापारीले बेवास्ता गरेका थिए । प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव निरु दाहाल पाण्डेले बजार सञ्चालनको प्रक्रियामा रहेको बताइन् । बजार सञ्चालनका लागि टेन्डर अन्तिम चरणमा रहेको बताउँदै उनले केही समयपछि बजार सञ्चालनमा आउने बताइन् । विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारीले मात्र टेन्डर भरेको उनले बताइन् ।

२०७५ चैत ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरिएको बजार तत्काल सञ्चालनमा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता हालसम्म भवन प्रयोगमा नआएको तथ्यले मिथ्या साबित भएको छ । सरकारले भने नियम परिवर्तन गरेर भएपनि टेन्डर भर्ने फर्मलाई नै बजार सञ्चालनको अनुमति दिने तयारी गरेको छ ।