इटहरीः कोरोना महामारीका कारण नेपाल(भारत सीमा नाका बन्द भएपछि मोरङको विराटनगरमा सञ्चालित इट्टा उद्योगहरुमा मजदुर अभाव भएको छ ।

९० प्रतिशत मजदुर भारतबाट आउने गरेकोमा नाका बन्द भएकाले मजदुरको अभावमा उद्योगहरुले उत्पादन ठप्प पारेका छन् । तीन अर्ब ४० करोड रुपैयाँ मूल्य बराबरको वार्षिक उत्पादन गर्दै आएका ८५ ओटा उद्योग एकैसाथ बन्द हुँदा प्रदेशभरमा इट्टाको आपूर्ति प्रभावित हुने देखिएको छ । इट्टा व्यवसायी संघका अनुसार भारतको पश्चिम बंगालको कुचबिहारबाट आउने २२ हजार मजदुरले उत्पादनको काम गर्ने गरेका छन् ।

संघले उद्योग सञ्चालनको वातावरण निर्माणमा सहजीकरणका लागि उद्योग मन्त्रीलाई ज्ञापनपत्र बुझाएपनि सुनुवाइ नहुँदा उत्पादन प्रभावित हुने भएको हो । सीमा नाका नखुल्दा भारतीय मजदुर नेपाल प्रवेश गर्न नसकेपछि उत्पादन बन्द भएको कोसी इट्टा व्यवसायाी संघका अध्यक्ष महेन्द्रप्रसाद साहको भनाइ छ । हिउँदमा इट्टा उत्पादन र बिक्री गर्ने उद्योगले भारतीय मजदुरलाई एक वर्षको मजदुरीबापत् अग्रिम भुक्तानी दिएपछि स परिवार आउने मजदुरले काम सम्पन्न गर्दछन् ।

इँट्टाको उत्पादन रोकिँदा विकास निर्माणको काम प्रभावित हुने निर्माण व्यवसायी संघ मोरङका कोषाध्यक्ष दाताराम पौडेलले बताए । प्रदेश १ मा उत्पादन हुने इट्टाको प्रतिगोटा मूल्य न्यूनतम सात रुपैयाँदेखि १८ रुपैयाँसम्म पर्ने गरेको छ । इट्टा उत्पादन र बजारीकरणबाट सरकारले वार्षिक ३५ करोड रुपैयाँ राजश्व असुली गर्दै आएको छ ।