इटहरीः आज विजयादशमीको दोस्रो दिन । देशभरका शक्तिपीठहरुमा ब्रम्हचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।
नवरात्रा अवधिमा नवदुर्गा भवानीलाई पूजा पाठका माध्यमबाट प्रसन्न पार्ने परम्परागत प्रचलन अनुसार आज ब्रम्हचारिणी देवीको स्तुति गरिएको हो ।
नवरात्राका अवसरमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रुपमा मनाइने नवरात्रा घटस्थापनाका दिन सुरु भई विजयादशमीका दिन मान्यजनबाट जमरा र टिका ग्रहण गरी सम्पन्न हुन्छ ।
नवरात्रा अवधिमा विभिन्न मनोकांक्षा पूरा हुने विश्वासका साथ ब्रत बस्ने प्रचलनसमेत रहेको छ ।