इटहरीः संघीय सरकारको गृह मन्त्रालयले देशका कुनै पनि भागमा तत्काल कफ्र्यु आदेश जारी नहुने प्रष्ट पारेको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले कफ्र्यु लगाउने अफवाह फैलिएको पृष्ठभूमिमा मन्त्रालयले आज विज्ञप्ति जारी गरी कफ्र्यु नलाग्ने जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा “मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल कफ्र्यु लाग्ने भन्ने सूचना सम्प्रेषित गरेको पाइएकाले मन्त्रालयको ध्यानाकर्षण भएको छ । उक्त सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ ।” भनी उल्लेख गरिएको छ ।