इटहरीः जनता क्याम्पसको क्यान्टिनमा भाँडा माझ्ने महिला बन्धक बनाइएकी छिन् । आफूमाथि भएको यौन हिंंसाको जाहेरी दिएको भोलिपल्ट क्याम्पसको क्यान्टिनमा ताला लाउने नाममा महिलालाई भित्रै राखेर शुक्रबार बिहान क्याम्पस समयमा ताला लगाइएको थियो ।

यौन हिंसा गरेको भन्दै क्याम्पस सुरक्षा गार्डविरुद्ध प्रहरीमा जाहेरी दिने मधेसी मूलकी ती महिला बन्धक बनाइएकी हुन् । गत भदौ २५ गते बिहान भाँडा माझ्न कलेज जाँदा गेटमा गार्ड देविन्द्र दाहालले आफूमाथि अभद्र गरेको उनले जाहेरीमा लेखेकी छिन् । उनले हिजो जाहेरी दिएकी थिइन् ।

क्यान्टिनमा खानाको गुणस्तरमा सुधार नभएको भन्दै नेवि सङ्घ क्याम्पस सभापति सहदेव काफ्लेसँगै क्यान्टिन पुगेका विद्यार्थीले ताला लगाएका हुन् । काफ्लेले भने यो नेवि सङ्घको ताला नभएर स्वतन्त्र रूपमा विद्यार्थीहरूले ताला लगाएको बताएका छन् ।

क्यान्टिनभित्र भएकालाई बाहिर ननिकाली बन्धक बनाइएको क्यान्टिन सञ्चालन सुनिल कार्कीले बताए । उनले भने, ‘न हामीलाई निस्कन भनियो न भाँडा माझ्ने दिदीलाई । खानाको गुणस्तरको नाममा दिदीलाई यातना दिने काम भयो ।’

खानाको गुणस्तर कमजोर भएको भनी पुष्टि गरेमा सुधार गर्न तयार भएको भन्दै कार्कीले पूर्वाग्रह राखेर क्यान्टिनमा ताला लगाएको बताए । क्याम्पस गार्ड देविन्द्र दाहाल पक्राउ पर्नु अगाडि खाद्यान्नको गुणस्तरमा प्रश्न नआएको तर पक्राउ परेको भोलिपल्ट ताला लगाइनु नियतवश भएको कार्कीले बताए । ताला लगाउनेहरूले भने क्याम्पसले खानाको गुणस्तर छानबिन गर्नुपर्ने भन्दै ताला लगाएका थिए ।

महिला बन्धक बनाएको उजुरी आए कारबाहीः प्रहरी
यस बिषयमा बुझ्दा क्याम्पस प्रमुख भोजराज श्रेष्ठले आफू मिटिङमा भएको बताए । क्याम्पसमा ताला लगाएपछि गएको प्रहरीले ताला हटाएको छ । इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले महिला बन्धक बनाउने उद्देश्यले ताला लगाएको उजुरी आए दोषीलाई कारवाही गर्ने बताए । उनले भने, ‘खाद्यान्नको कुरा भए कलेजले हेर्ने कुरा भयो । महिलाको कुरा हो भने हामी कारबाही गछौँ ।’