इटहरीः प्रदेश १ मा यस वर्ष धानको उत्पादन उत्साहजनक हुने देखिएको छ ।

पर्याप्त वर्षाका कारण मलको अभावका बाबजुद धानको उत्पादनमा यस पटक कुनै कमी नआउने भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा.राजेन्द्र उप्रेतिले बताए । उनका अनुसार यस वर्ष धान खेतिको क्षेत्रफलसमेत वृद्धि भएको छ । एक महिनापछि उत्पादनको तथ्याङ्क सार्वजनिक हुने उनको भनाइ छ । डा.उप्रेतिले स्थलगत अध्ययनका क्रममा धानको उत्पादन उत्साहजनक रहेको पाइएको उल्लोख गरे ।

उनले भने,‘धान रोपाइँ अघिल्ला वर्षभन्दा करिब २० हजार हेक्टर बढी भएको छ, धानका लागि मौसम पनि अनुकुल रहेकाले अघिल्लो वर्षभन्दा कम उत्पन हुँदैन, उत्पादन बढ्छ ।’आकाशे पानीमा भरमा हुने खेतमा पनि धान बाली सप्रेकाले प्रदेश १ मा चिन्ताजनक अवस्था नरहेको उनले बताए ।आर्थिक वर्ष २०७६र०७७ मा प्रदेश १ मा ३ लाख २० हजार १ सय ३४ हेक्टरमा धान रोपाइँ भएको थियो ।

त्यसमा ११ लाख ९८ हजार ७ सय ४० मेट्रिकटन धान उत्पादन भएको प्रदेश १ कृषि निर्देशनालयाले जनाएको छ । प्रदेश १ मा यो वर्ष ३ लाख ३२ हजार ९ सय १७ हेक्टरमा धान रोपाइँ भएको छ । निर्देशनालयको अनुसार प्रदेश १ मा ३ लाख ४० हजार ८ सय २९ हेक्टर धान खेतियोग्य जमिन रहेको तथ्याङ्क छ ।