इटहरीः प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जारी शुभकामना सन्देशमा हालै संसदले अनुमोदन गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नक्सा प्रयोग नगरी पुरानो नक्सा प्रयोग गरिएको प्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
प्रधानमन्त्री ओलीद्वारा जारी शुभकामना सन्देशमा प्रयोग भएको राष्ट्रिय निशान छापमा अंकित नक्सामा लिपुलेक लगायतका भारतद्वारा अतिक्रमित भूमि नसमेटिएको पाइएपछि नेपाली कांग्रेसले विरोध जनाएको हो । प्रधानमन्त्रीको शुभकामना सन्देश सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालबाटै संसदबाट अनुमोदित नक्सा प्रयोग नगर्नुको कारणबारे प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन् ।
देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा कसरी फिर्ता होला भन्ने प्रवक्ता शर्माको प्रश्न छ । उनले ट्वीटमा लेखेका छन्,‘लिम्पियाधुरारहित नेपालको नक्शा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौँ सम्माननीय प्रधानमन्त्री ज्यू ? गम्भीर विमती दर्ज होस् । देशको संसदले पारित गरेको नक्शा अब नक्शामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन ?’
दुई दिनअघि मात्र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख शान्तकुमार गोयलसँग आफ्नै सरकारी निवासमा भेटघाट गरेका प्रधानमन्त्री ओलीले पुरानो नक्सा प्रयोग भएको निशान छाप प्रयोग गरी शुभकामना सन्देश जारी गरेपछि उनको राष्ट्रवादी अडान संकटमा परेको छ ।