इटहरीः यस वर्ष नेपालमा तिहारका बेला अत्यधिक मात्रामा प्रयोग हुने सयपत्री र मखमली फूलको माग आन्तरिक उत्पादनले नै धान्ने व्यवसायीहरुले बताएका छन् ।

अधिकमासका कारण तिहार एक महिना ढिलो सुरु हुने अवस्थामा फूलको उत्पादन र मागको सन्तुलन बिग्रने आँकलन गरिएकोमा व्यवसायीले भने अभाव नहुने जिकीर गरेका हुन् । फूल फुल्ने समय बितिसकेपछि मात्र तिहार सुरु हुने अवस्थाका कारण फूलको अभाव हुन सक्ने पूर्वानुमान गरिएको हो । तर समय अनुकूल हुनेगरी खेति गरिएकाले आपूर्तिमा कुनै असर नपर्ने फूल व्यवसायमा संलग्न व्यक्तिहरुको भनाइ छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमारकसजु श्रेष्ठका अनुसार अधिकमासका कारण यसपटकको तिहार २०(२२ दिन पछाडि धकेलिएपनि फूलको बजारलाई कुनै पर्ने छैन । घरेलु किसानले उत्पादन गरेको फूल तिहार अगाडि नै सुकेर जाने भएपनि व्यवसायिक रूपमा गरिएको फूलको उत्पादन निरन्तर चलिरहेकोले तिहारको मागलाई सजिलै धान्ने उनले बताए ।

गत वर्ष तिहारको अवधिमा पाँच लाख मखमली र २० लाख सयपत्री गरी २५ लाख माला खपत भएको बताउँदै श्रेष्ठले यस वर्ष कोरोना महामारीका कारण फूलको मागमा पनि गिरावट आउने अनुमान गरे । उनका अनुसार १२ देखि १५ लाख माला खपत हुने भएकोमा सबै माग स्वदेशी उत्पादनले नै धान्न सक्ने छ । फूलको मूल्यमा भने यस वर्ष सामान्य वृद्धि हुने उनको कथन छ । गत वर्ष ५० देखि ६० रुपैयाँमा बिक्री भएको सयपत्री मालाको मूल्य यस वर्ष ७० रुपैयाँसम्म पुग्न सक्ने उनको भनाइ छ । चिसो बढ्दै जाँदा फूल झाँगिन नसक्ने र फुलेको फूलसमेत सुक्ने भएकाले तिहारसम्म सयपत्री फूललाई जोगाइराख्न समस्या भएको फूल व्यवसायी श्यामसुन्दर प्रजापतिले बताए ।

तिहार पछाडि भएपनि नेपालमा उत्पादित फूलले बजारको मागलाई धान्ने भएकाले बाहिरी मुलुकबाट फूल आयात गर्न नहुने व्यवसायीहरूको भनाइ छ । गत वर्ष नेपालमा १० लाख माला आयात गरिएकोमा फूल व्यवसायीले दुःख व्यक्त गरेका छन् । आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने उनीहरुको भनाइ छ ।