इटहरीः कोरोना महामारी तथा अस्थिर मूल्यका कारण नेपालमा सुनको आयातमा गिरावट आएको छ ।

सामान्य अवस्थामा त्रैमासिक रुपमा करिब एक हजार आठ सय किलो सुन आयात हुने गरेकोमा यस आर्थिक वर्ष २०७७र७८ को पहिलो त्रैमासिक अवधिमा सुनको आयात एक सय किलोमा सिमित भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार असोजसम्म नेपालमा ७३ करोड ७० लाख रुपैयाँको सुन आयात भएको छ । मूल्यमा निरन्तर उतारचढाव भएसँगै चालू आर्थिक वर्ष २०७७र०७८ मा पनि सुनको आयात बढ्न सकेको छैन । गत वर्षको तुलनामा यस आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा सुनको आयात बढेको तथ्याङ्कले देखाउँछ । गत वर्ष पहिलो त्रैमासिक अवधिमा ६ करोड रुपैयाँको मात्र सुन आयात भएको विभागको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७५र७६ को पहिलो त्रैमासिक अवधिमा आठ अर्ब ६५ करोड बराबरको एक हजार आठ सय ७३ किलो सुन आयात भएको तथ्याङ्कका आधारमा व्यवसायीले सुनको आयातमा भारी गिरावट आएको बताएका छन् ।अघिल्लो आर्थिक वर्षमा ३४ अर्ब ६३ करोड रुपैयाँको सुन आयात भएको थियो । तर, गत वर्षमा भने १३ अर्ब ४६ करोडको मात्र सुन आयात भएको थियो । गत वर्षको असारसम्म नेपाली बजारमा प्रतितोला ६० हजार रुपैयाँ रहेको सुनको मूल्यमा गत आर्थिक वर्ष वृद्धि भई प्रतितोला करिब ८० हजार पुगेको थियो ।

कोरोना महामारीसँगै प्रतितोला एक लाख तीन हजार पाँच सयसम्म पुगेको सुनको भाउ हाल केही घटेर प्रतितोला करिब ९५ हजारमा कारोबार भइरहे पनि सर्वसाधारणको क्रयशक्ति कमजोर हँुदा व्यापारमा गिरावट आएको व्यवसायीको अनुभव छ । सुनको मूल्यमा उतारचढाव हुने मुख्य कारणका रुपमा अमेरिका र चीनबीचको व्यापार युद्धलाई लिइएको छ ।