इटहरीः आगामी कात्तिक २७ गते संघीय संसदमा विभिन्न तीन देशका लागि सिफारिस गरिएका राजदूतका उम्मेदवारमाथि संसदीय सुनुवाइ हुने भएको छ ।

सरकारले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत, पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिका र निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतका रुपमा नियुक्त गर्न सिफारिस गरेपछि उनीहरुविरुद्ध उजुरी आह्वान गरिएकोमा उजुरीकर्ता सम्पर्कविहिन भएपछि २७ गतेका लागि संसदीय सुनुवाइ तय भएको हो ।

सिफारिस गरिएका राजदूतहरुका विरुद्ध चार ओटा उजुरी दर्ता भएपनि उजुरीकर्ता सम्पर्कमा नआएपछि कात्तिक ४ गते गोरखापत्रमा सूचना प्रकाशित गरी सम्पर्कमा आउन ध्यानाकर्षण गराउँदासमेत सम्पर्कमा नआएकाले संसदीय सुनुवाइको मिति तोकिएको संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले बताए ।

गत असोज १६ गतेको मन्त्रिपरिषद्को बैठकबाट नियुक्तिको सिफारिसबारे निर्णय भएकोमा सो निर्णय संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा सिफारिस भएका उम्मेदवारहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक प्रावधान अनुसार राजदूत नियुक्त गर्नेछिन् ।