इटहरीः मोरङको विराटनगरस्थित रानी भन्सार नाकाबाट यस आर्थिक वर्षको चार महिनामा एक करोड तीन लाख रुपयाँ मूल्यका तिहारमा प्रयोग हुने झिलिमिली बत्ति आयात भएको छ ।

तिहारको अवसरमा प्रयोग हुने सयपत्री तथा मखमली फूलको आयात भने यस वर्ष पूर्ण रुपमा ठप्प रहेको भन्सार कार्यालयको भनाइ छ । कार्यालयका अनुसार कोरोना महामारीका कारण नेपाल भारत नाकाबाट आवागमन ठप्प हुँदा ठेला प्रयोग गरी आयात गरिँदै आएको फूल नेपाल भित्रन नपाएको हो । गत आर्थिक वर्ष २०७६र७७ मा ५७ लाख ९६ हजार मूल्य बराबरका ६३ हजार ८ सय किलो फूल आयात भएको कार्यालयको तथ्याङ्क छ ।

यसैगरी, सोभन्दा अघिल्लो वर्ष ३५ लाख १२ हजार रुपैयाँ बराबरको ६० हजार एक सय किलो फूलको आयात गरिएको कार्यालयको लगतले देखाएको छ । साथै सोही कार्यालयबाट यस आर्थिक वर्षमा एक करोड तीन लाख मूल्यका झिलिमिली बत्ति आयात भएको छ । यसअघि गत आर्थिक वर्ष एक करोड ४८ लाख ३२ हजार मूल्यका बत्ति आयात भएको उल्लेख गर्दै भन्सार कार्यालय प्रमुख शिवप्रसाद भण्डारीले सोभन्दा अघिल्लो वर्ष एक करोड ३९ लाख २० हजार रुपैयाँ बराबरका झिलिमिली बत्ति आयात भएको स्पष्ट पारे ।