वासिङ्टन डीसीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानले चुनावमा धाँधली भएको जनाउँदै पेन्सिलभेनिया, मिचिगन र जर्जियामा मतगणना स्थगित गर्न माग गर्दै अदालतमा आज बिहीबार उजुरी गरेको छ ।
राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल भोट प्राप्त गर्न यी राज्यको मत परिणाम आफ्नो पक्षमा पार्नु जरुरी देखिएको छ । पछिल्ला मत गणनामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले अग्रता लिन थालेपछि ट्रम्पका तर्फबाट उजुरी गरिएको हो । उजुरीमा मतपत्र राखिएका स्थान र मत गणना स्थलसम्म आफ्ना प्रतिनिधिको पहुँच सुनिश्चित गर्न ट्रम्पको चुनावी अभियानका तर्फबाट आग्रह गरिएको छ । ट्रम्प अभियानले धाँधलीको आरोप लगाएको मिचिगनको एक चुनावी मत गणना स्थलमा दुबै पक्षका प्रतिनिधिहरुको रोहबरमा मत गणना भएको थियो ।
मिचिगनमा डेमोक्रेट पार्टीका जो बाइडेनले विजय हासिल गरेका छन् । नेभादा, पेन्सिलभेनिया र जर्जियामा अझै पनि मत गणना जारी रहेको र दुबै उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको देखिएको छ । ट्रम्प अभियानले पेन्सिलभेनियाको मत गणनाको विषयलाई सर्वोच्च अदालतमा पनि चुनौती दिने तयारी गरेको छ । ट्रम्पका उप चुनावी व्यवस्थापक जस्टिन क्लार्कले चुनाव भएको तीन दिनभित्र हुलाकबाट प्राप्त भएका मतपत्र गणना गर्ने वा नगर्ने भन्ने विषयले अन्यौल बढाएकोमा यसको निरुपण अदालतबाट हुने बताए । राष्ट्रपति ट्रम्पले यही विषयलाई चुनावी प्रचारका क्रममा लगातार उठाउँदै आएका थिए । उनले हुलाकबाट प्राप्त हुने मतपत्रले चुनावमा धाँधली हुने भन्दै आफू सर्वोच्च अदालत जाने बताएका छन् ।
ट्रम्पको चुनावी अभियानले विस्कन्सिन राज्यमा पुनः मत गणनाका लागि आग्रह गर्ने घोषणा पनि गरेको छ । यो राज्यमा जो बाइडेनले विजय हासिल गरेका छन् । ट्रम्पका चुनावी व्यवस्थापक बिल स्टेपियानले विस्कन्सिन राज्यमा धेरै अनियमितता भएको दाबी गरेका छन् तर कहाँ, कसरी धाँधली भए भन्ने बारेमा केही बताएका छैनन् । बाइडेनले बुधबार नै सबै राज्यमा मत गणना निरन्तर हुने बताएका थिए । उनले भने, “हाम्रो लोकतन्त्रलाई कसैले अपहरण गर्न सक्दैन – अहिले मात्र होइन, सधैं ।” पेन्सिलभेनिया राज्यमा कुनै पनि किसिमको धाँधली वा मतपत्रसँग सम्बन्धित कुनै विषय उठेको समाचार आएका छैनन् । यस राज्यमा ३१ लाखले हुलाकबाट मतदान गरेका थिए ।
नोभेम्बर ३ भित्र हुलाकमा रजिष्टर भएका मतदाताको मत गणना गर्न सकिने व्यवस्था छ । पेन्सिलभेनिका महान्यायाधीवक्ता जस शापिरोले सिएनएनसँगको अन्तर्वार्तामा ट्रम्प अभियानले दिएको निवेदनको कानुनी भन्दा पनि राजनीतिक महत्व मात्र रहेको बताएका छन् । -एजेन्सी