इटहरीः आन्तरिक विवादका कारण फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय आपसी छलफलमा जुटेका छन् ।
पाँच दिनअघि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले एकैसाथ जान नसकिने भन्दै पार्टी एकता भंग गर्न सुझाव दिएका कारण रुष्ट बनेका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज छलफललाई निरन्तरता दिई विवाद निरुपण गर्ने उद्देश्यले प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । विवाद समाधानबारे ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मतभेद रहेको छ ।
नेता नेपालले केन्द्रीय समितिमार्फत् विवाद निरुपण गर्ने सर्त राखेका छन् ओली दुवै अध्यक्षबीच सहमतिपछि मात्र बैठक राख्ने पक्षमा रहेका छन् । दुवै अध्यक्षले आफ्ना अनुकूल नेताहरुसँग विवादबारे छलफल चलाइरहेको पृष्ठभूमिमा दुवै अध्यक्षबीच भेटवार्ता भएको हो । राजदूत नियुक्ति, मन्त्रिमण्डल पुर्नगठन, कर्णाली विवादजस्ता प्रकरणमा ओलीको एकल निर्णय र भारतीय गुप्तचर संस्था रअका प्रमुखको नेपाल भ्रमणबाट अर्का अध्यक्ष दाहाल असन्तुष्ट बनेका छन् ।