इटहरीः भारतीय स्थल सेनाका प्रधानसेनापति मनोज मुकुन्द नरवणे र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज शुक्रबार भेटवार्ता भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री ओली र प्रधानसेनापति नरवणेबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । सीमा विवादका कारण दुई देशबीच लामो समयदेखि औपचारिक वार्ता हुन नसकिरहेको बेला प्रधानमन्त्री ओली र भारतीय प्रधानसेनापति बीचको भेटलाई चासोका साथ हेरिएको छ ।
नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण गर्न गत बुधबार नेपाल आएका प्रधानसेनापति नरवणेले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीका हातबाट मानार्थ महारथीको उपाधि ग्रहण गरेका थिए । उपाधि ग्रहणको कार्यक्रम सम्पन्न भएपछि शिष्टाचार भेटवार्ताका क्रममा राष्ट्रपति भण्डारीले दुई देशबीच लामो समयदेखि अवरुद्ध औपचारिक संवाद सुरु गर्न नरवणेलाई आग्रह गरेकी थिइन् ।
हिजो नै नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि नरवणेले जङ्गी अड्डा परिसरमा शिष्टाचार भेटवार्ता गरेका थिए । तीनदिने नेपाल भ्रमण सम्पन्न गरी आजै स्वदेश फिर्ता हुने तयारीमा रहेका नरवणेले भ्रमण अवधिमा वसन्तपुर र पशुपति क्षेत्रको पनि भ्रमण गरेका थिए ।