वासिङटनः अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।
राष्ट्रपतिका उम्मेदवारसमेत रहनुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेकाले विवाद भएको हो । पूर्वउपराष्ट्रपति जो बाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मतगणनामा लगातार पछाडि पारिरहेका छन् । अमेरिकामा अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ । निर्वाचनमा धाँधली भएको आरोप लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतबाट मागेको सहारा पनि पाउन असफल भएका छन् ।
मतगणना तत्काल रोक्न माग गर्दै उनले संघीय अदालतमा दिएका उजुरीहरु अदालतले खारेज गरिदिएका छन् । ट्रम्पले आफ्नो मतान्तर कम भएका वा बाइडेनले अग्रता लिएका राज्यहरूमा धाँधली र चुनावी अनियमितता भएको आरोप लगाएका हुन् । बाइडेन झिनो मतले अगाडि रहेको नेभाडा राज्यमा यसअघिसम्म ट्रम्पको पक्षमा मत आउने आशामा उनका समर्थकहरूले मतगणना रोक्न माग गरेका थिएनन् । ट्रम्पले विस्कन्सिन, मिचिगन, पेन्सिल्भेनिया र जोर्जिआ राज्यहरूमा मतगणनालाई कानुनी चुनौती दिँदै उजुरी दिएका हुन् । उनले लगाएको आरोप पुष्टि गर्नेगरी प्रमाणहरु नपुगेकोले ट्रम्प पक्षधरद्वारा दर्ता गरिएको उजुरी खारेज गरिएको अदालतले जनाएको छ ।
जोर्जिआमा ढिलोगरी आएका ५३ ओटा मतपेटिकालाई नोभेम्बर ३ मा भएको निर्वाचनको मतपेटिकासँग मिसाइएको दाबीसहित मुद्दा दायर भएको थियो । मिचिगनमा भने मतगणना रोक्न माग गर्दै मतगन्तीको प्रक्रियामा पहुँचको माग गरिएको थियो । राष्ट्रपति ट्रम्पले पेन्सिल्भेनियामा मतगणना रोक्न गरेको कानुनी अनुरोधलाई पनि अस्वीकार गरिएको छ । राज्यका अधिकारीहरूले रिपब्लिकनलाई मतगणना निरीक्षण गर्न दिइएको बताउँदै एकजना प्रतिनिधिले सामाजिक दूरीको नियम पालना नगरेको बताएका थिए । ती राज्यका न्यायाधीशले उजुरी खारेज गरिदिएको र मतगणना रोक्न आवश्यक नभएको फैसला सुनाएका थिए । अदालतले उजुरी खारेज गरिदिएपछि राष्ट्रपति ट्रम्पलाई अर्को धक्का भएको छ ।
राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीले नेभाडाको मतदानमा पनि धाँधली भएको भन्दै उजुरी दर्ता गरेको छ । शुक्रबार दर्ता गरिएको उजुरी ट्रम्पको तर्फबाट अन्य राज्यमा दर्ता गरिएको जस्तै रहेको जनाइएको छ । प्रमाण नदिइएको सो मुद्दामा क्लार्क काउन्टीमा हुलाकमार्फत् आएका मतपत्र जाँचमा अनियमितता र तीन हजारभन्दा बढी फर्जी मतदान भएको दाबी गरिएको छ । अमेरिकामा अहिले मतगणना भइरहेका पेन्सिल्भेनिया, नेभाडा, एरिजोना, जोर्जिआ र नर्थ क्यारोलाइनामा स्पष्ट विजेता देखापरिसकेका छैनन् । पेन्सिल्भेनियामा मात्र जितेमा वा बाँकी चारमध्ये दुईओटामा मात्र जितेमा पनि बाइडेन राष्ट्रपतिमा निर्वाचित हुनेछन् । ट्रम्पले जित्नका लागि भने पेन्सिल्भेनियासहित बाँकी चारमध्ये तीनओटा राज्यमा जित्नैपर्ने हुन्छ ।
यसअघि, ट्रम्पको अग्रता पेन्सिल्भेनियामा खुम्चँदै थियो भने अब अर्को राज्य जोर्जिआमा पनि उस्तै स्थिति देखापरिरहेको छ । अमेरिकामा अहिले मतगणना र मुद्दा मामिला भइरहेका बेला दुवै उम्मेदवारले विभिन्न प्रतिक्रिया दिएका छन् । प्रतिस्पर्धामा रहेका वर्तमान राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएका छन् भने अर्का प्रतिस्पर्धी तथा पूर्वउपराष्ट्रपति जो बाइडेनले संयमित हुन सबैलाई आह्वान गरेका छन् । राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दाबी गरेपछि उनका समर्थक र विपक्षी दुवै पक्षले विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् । मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत् पहिलोपटक राष्ट्रपति ट्रम्पले धारणा सार्वजनिक गर्नेक्रममा हुलाकमार्फत् गरिएको मतदान एकतर्फी भएको दाबी गरेका थिए । उनले भने–‘यदि, तपाइँ वैध मतहरूमात्रै गणना गर्नुहुन्छ भने म सजिलै जित्छु । यहाँ धेरै अवैध मतदान भएको छ ।’
मतदानअघि सञ्चारमाध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले चुनावी हस्तक्षेपको संज्ञा दिए । यसअघि, ट्रम्पको चुनावी प्रचार अभियान समूहका एक अधिकारीले ‘सीबीएस’ टेलिभिजनसँग कुरा गर्दै विजयी भएको बाइडेनले घोषणा गर्दैमा राष्ट्रपति ट्रम्पले त्यसलाई नस्वीकार्ने बताएका थिए । अन्तिम नतिजा आउनै लाग्दा उनले दिएका अभिव्यक्तिका कारण धेरै अमेरिकीहरुले उनको आगामी कदमको बारेमा आशंका र चिन्ता व्यक्त गरेका छन् । अर्का प्रतिस्पर्धी बाइडेनले भने विरोध प्रदर्शनमा उत्रिएका तथा त्रसित र उत्तेजित भएकाहरुलाई संयमता अपनाउन आह्वान गरेका छन् । ‘लोकतन्त्रमा कहिले–काहीँ अस्तव्यस्तता देखिन्छ’–उनले भने,‘तर, प्रक्रियाले काम गरिरहेको छ ।’
प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उनले भने–‘अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ । त्यसलाई मानिसहरुले कसरी व्यक्त गरेका छन् भन्ने हेरौं ।’मतगणना सकेपछि आफू र आफ्नो समूहकी उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस विजयी हुने कुरामा ‘कुनै शंका नरहेको’ पनि बाइडेनले बताएका छन् । त्यसबाहेक अमेरिकामा यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गरेका छन् । त्यसको गणनाका लागि समय लाग्ने भएकाले अन्तिम नतिजा आउन अझै केही दिन लाग्नसक्ने अनुमान गरिएको छ । हुलाकबाट आएको मतगणनापछि मात्र अन्तिम नतिजा सार्वजनिक गरिनेछ ।
तर, हुलाकबाट आएको मतले भने नतिजालाई उल्ट्याउने सम्भावना कम हुने गरेको छ । नेपाली समयअनुसार मंगलबार राति अबेरसम्म भएको मतदान सकिएपछि बुधबार बिहानदेखि मतगणना सुरु भइ परिणाम सार्वजनिक हुन थालेको हो । अमेरिकी राष्ट्रपतिको काम–कारबाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिएको छ । अमेरिकामा हरेक चार चार वर्षको नोभेम्बरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० मा शपथग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्ने परम्परा रहेको छ । -रासस\एएनआई