इटहरीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको आन्तरिक विवाद समाधानका लागि पार्टीको सचिवालय बैठक बोलाउन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित पाँच जना सचिवालय सदस्यले आज शनिबार अनुरोध गरेका छन् ।
उनीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा ओलीलाई लिखित पत्र बुझाई बैठक सञ्चालनका लागि आग्रह गरेका हुन् । लिखित पत्र बुझेपनि ओलीले हालसम्म बैठक सञ्चालनको निर्णय भने नगरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘कोरानाले सिर्जना गरेको संकट सम्बोधन गर्न र स्थायी कमिटिले गरेका निर्णयहरुको कार्यान्वयन प्रक्रिया अगाडि बढाउन छलफल आवश्यक छ भन्दै तत्काल सचिवालयको बैठक बोलाउन लिखित अनुरोध गरेका छौं ।’ उनले भने ‘ कमरेड अध्यक्ष केपी शर्मा ओलीले बैठकका बारेमा आज निष्कर्श दिनु भएको छैन ।’
नौ सदस्यीय सचिवालयमा आबद्ध कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ छलफलमा सहभागी थिए ।