दुहबीः चाडपर्व नजिकिँदै गरेको र चाडपर्वमा आपराधिक घटना कम होऊन् भनेर दुहबी प्रहरीले विशेष सुरक्षा रणनीतिबारे छलफल चलाएको छ ।
सुनसरीको दुहबीमा शान्ति सुरक्षा कायम गर्नका लागि इलाका प्रहरी कार्यालय दुहबीले प्रारम्भिक खाका तयार गरेको छ । इलाका प्रहरी कार्यालय दुहबीमा आज शान्ति सुरक्षा र अपराध नियन्त्रणका चुनौती र समाधानका उपायबारे छलफल सम्पन्न भएको छ ।
छलफलमा दुहबी नगर प्रमुख वेदनारायण गच्छदारलगायत दुहबीका जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, युवा वर्ग सहभागी थिए । उनीहरूले तत्कालै चाडपर्वमा लागुऔषध, मदिरा, महिला हिंसाविरुद्ध रणनीति बनाएर लागू गर्ने निष्कर्ष निकालेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
इप्रका दुहबीले चाडपर्वमा हुन सक्ने अपराध रोक्न छुट्टाछुट्टै सुरक्षा योजना बनाउने भएको छ । जसमा नगरको सीमाक्षेत्रदेखि बस्ती र बजार लाग्ने स्थानसम्मको सुरक्षाका लागि छुट्टाछुट्टै रणनीति अपनाइने बताइएको छ । लागू औषधको अवैध धन्दा र यसको दुरूपयोग तथा मदिराको सेवनका कारण अपराध बढेको भन्दै यसलाई रोक्नसमेत संवेदनशीलता अपनाउने छलफलले निष्कर्ष निकालेको छ ।
लागू औषध र मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसासमेत बढेको निष्कर्ष निकाल्दै यसलाई रोक्न सुरक्षा निकायको तल्लो एकाइबाट काम गर्ने योजना बनाइने भएको छ । छलफलमा महिला हिंसा न्यूनीकरण गर्न र हरेक क्षेत्रमा लैङ्गिक संवेदनशीलता अपनाउन पनि सुरक्षा संयन्त्र सजग रहनुपर्ने उल्लेख गरिएको छ ।
सीमा सुरक्षालाई कडाइ गर्दै खुला सीमाका कारण नेपालमा अपराध गर्ने र भारतमा लुक्ने प्रवृत्ति अझै नरोकिएको र अपराध नियन्त्रणमा समस्या परेको पनि बताइएको छ ।
दुहवीमा बजार व्यवस्थापन र अनुगमन नहुनु, शान्ति सुरक्षामा चुनौती हुनु, चोरी तस्करीलगायतका घटनाले दुहबीका नागरिकलाई निकै सास्ती दिएको उल्लेख गरिएको छ ।