झापाः चाडपर्वका नाममा हुने विकृति, विसङ्गति अन्त्यका लागि मेचीनगरका सबै राजनीतिक दल, सङ्घ संस्था, उद्योगी, व्यवसायीहरू एक ठाउँमा उभिने भएका छन् ।
नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आयोजना गरेको छलफलमा सहभागी सबैले चाडपर्वलाई मर्यादित र व्यवस्थित गरी एक आपसमा खुशी साटासाट गरी मनाउनुपर्नेमा जोड दिएका थिए ।
मेचीनगर नगरपालिकाका उपप्रमुख मिनापोखरेल उप्रेती र वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङको उपस्थितिमा इलाका प्रहरी कार्यालय परिसरमा छलफल भएको थियो । चाडपर्वमा आपराधिक गतिविधि बढ्ने भएकाले यस्ता गतिविधि नियन्त्रणमा नगरवासीको पूर्ण सहयोग आवश्यक पर्ने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले बताए ।
चाडपर्वमा गरगहना लगाएर राति अबेरसम्म एक्लै नहिँड्न, आफ्नो शङ्कास्पद र अपरिचित मानिसहरू देखे गोप्य रूपमा प्रहरीलाई खबर गर्न पनि उनले आग्रह गरे ।
छलफलमा जुवातास, डाइसलगायतका खेल खेल्न निषेध गर्ने, मादकपदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला गरी समाजलाई आतङ्कित गर्नेलाई कानुनी कारवाही गर्ने राति ९ बजेपछि समूह बनाएर हिँड्न रोक लगाउने तथा सवारी साधनमा हुने पकेटमार, तथा विभिन्न औषधि खुवाएर बेहोस बनाएर लुट्ने गतिविधि निगरानीका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिने कार्यालयले जनाएको छ ।
छलफलमा सहभागीले नगरमा भारतीय नम्बर प्लेटका सवारी साधनको अव्यवस्थित पार्किङ, भारतीय रुपैयाँको सटहीका बारेमा गम्भीर रूपमा कुरा उठाएका थिए । सहभागीले नगरमा हुने विकृति र आपराधिक क्रियाकलाप रोक्न आआफ्नो क्षेत्रबाट प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
छलफलमा होटल व्यवसायी, पर्यटन व्यवसायी, मनि चेञ्जर व्यवसायी, यातायात व्यवसायी, सञ्चारकर्मी सुनचाँदी व्यवसायीलगायतका प्रतिनिधि सहभागी थिए ।