संखुवासभाः प्रधानमन्त्री केपी शर्मामा ओली भोलि बुधबार संखुवासभा भ्रमणमा आउने भएका छन् । नेपालको चीनसँग सिमा जोडिएको भोटखोला गाउँपालिका १ किमाथांकासहित भोटखोला २ को च्याम्ताङ्ग र मकालु ३ मा रहेको अरुण तस्रो जलविद्युत आयोजनाको बाँध निर्माणस्थलको अवलोकन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आर्चायले जानकारी दिएका छन् । उनका अनुसार विहान ८ः३० बजे प्रधानमन्त्री ओली हेलिकप्टर मार्पmत चिनसँग सिमा जोडिएको किमाथांका नाकामा आउनेछन् र उनले त्यहाँ भन्सार कार्यालय, विओपी र सुख्खा बन्दरगाहको निरीक्षण गर्नेछन् ।
उनले किमाथांकाको निरीक्षण गरिसकेपछि दिउँसो १२ः०० बजे च्याम्ताङ्गमा रहेको राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण राजमार्गको अनुगमन गर्नेछन् भने च्याम्ताङ्गदेखि डोङ्गोपा सम्मको १४ किलोमिटर चट्टान फुटाएर बाटो बनाउने प्रयोजनका लागि बसेको सेनाको बंकर र बन्दै गरेको अस्थायी शिविरको अनुगमन गर्ने कार्यक्रम रहेको प्रजिअ आर्चायले बताए । त्रिदेशीय लिङ्करोडको रुपमा रहेको राष्ट्रिय गौरवको आयोजना उत्तर–दक्षिण राजमार्गको १४ किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी रहेको छ । प्रधानमन्त्री ओली च्याम्ताङ्गबाट दिउसो १ः०० बजे प्रस्थान गरेर हेलिकप्टर मार्पmत १ः३० बजे मकालु गाउपालिका ३ मा रहेको अरुण तेस्रोको बाँध निर्माणस्थल फ्याक्सिन्दा आउनेछन् । भारतीय सतलज विद्युत निगमले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
हालसम्म आयोजनाको ३० प्रतिशतभन्दा बढी कार्य सम्पन्न भइसकेको छ । त्यहाँ ओलीले अरुण तेस्रोको निरीक्षण गरेपछि जिल्ला समन्वय समिति प्रमुखले उनलाई जिल्लाको वस्तुस्थिति सहितको ब्रिफिङ्ग गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले आफ्नो दोस्रो पटकको मृगौला प्रत्यारोपणपछि गरेको उपत्यकाभन्दा बाहिरको यो पहिलो भ्रमण हो । प्रधानमन्त्री ओलीको सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालन गरिएको प्रजिअ आचार्यले बताए । प्रधानमन्त्रीको भ्रमणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्ग, राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङ्ग, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र संखुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम सहभागी हुनेछन् ।