इटहरीः ताप्लेजुङमा सरकारले सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रम प्रभावकारी देखिएको छ ।

कार्यक्रममाफृत् विपन्न नागरिकका घरमा रहेका फुसका छाना विस्थापन गरी जस्ताको छाना हाल्न थालिएको छ । शहरी विकास तथा निर्माणअन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना झापाले छनौटमा परेका विपन्न परिवारलाई जस्तापाताको छाना निर्माण गरिदिने भएको छ । जिल्लाको मैवाखोला गाउँपालिका वडा नं ४ साँघुको ओदकमा आयोजनाले विपन्न ३० परिवारको घरको फुसको छाना हटाई जस्तापाताले छाइदिएको छ ।

छाना निर्माण सम्पन्न भएका घरको हिजो मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले उद्घाटनसमेत गरिसकेका छन् । सो अवसरमा उनले फुस र चित्राको छाना विस्थापनले नागरिकलाई ठूलो राहत पुगेको बताए । घरको छाना जस्तापाताले छाएपछि विपन्नले वर्षातको समयमा चुहिने घरमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ । गाउँपालिका अध्यक्ष राजन थक्लुङका अनुसार गाउँपालिकाको छ वटै वडाका एक सय ७४ घरबाट फुसका छाना विस्थापनको कार्य क्रमिक रुपमा सम्पन्न गरिने भएको छ ।

यस प्रयोजनका लागि भवन निर्माण आयोजनाबाट प्रतिपरिवार ५० हजारका दरले बजेट निकासा गरिएको उनले बताए । नौवटा स्थानीय तह रहेको ताप्लेजुङमा विपन्न एक हजार ८१४ परिवारको घरमा फुसको छाना हटाएर जस्तापाताले छाइने भएको छ । मैवाखोलाबाहेक फुङ्लिङ नगरपालिकामा १९० परिवार, फक्ताङ्लुङ गाउँपालिकामा २४५, सिरिजंघामा १६७, सिदिङ्वामा २९०, पाथीभरा याङ्वरकमा २००, मेरिङ्देनमा १८८, आठराई त्रिवेणीमा २१३ र मिक्वाखोला गाउँपालिकामा १४७ परिवारको घरमा जस्तापाताले छाइने भएको छ ।