इटहरीः सुनसरीको इटहरी क्षेत्रका पुराना व्यवसायी टंक दुलालले आसन्न नेपाल उद्योग वाणिज्य महासंघको ५४ औ वार्षिक साधारणसभा तथा निर्वाचनमा खुल्ला तर्फको केन्द्रीय सदस्यमा उमेदवारी दर्ता गराएका छन् ।

इटहरी तथा प्रदेश १ कै व्यवसाय र व्यवसायीको मर्म बुझ्ने दुलालले महासंघले पाएका अधिकार अहिले गुमेको र सोही गुमेका अधिकार पुनः ल्याउन आफूले उमेदवारी दिएको बताए । ‘महासंघको निर्वाचान होस् या अन्य काममा महासंघको ५० प्रतिशत अधिकार हुन्छ । तर, अहिले महासंघले पाएका ती अधिकार गुम्दै गएका छन् । तिनै अधिकारलाई फिर्ता गर्ने उदेश्यका साथ मैले उमेदवारी दिएको हुँ’, दुलालले भने । दुलालले नेपाल सरकारको संरचनाजस्तै उद्योग वाणिज्य महासंघको पनि संरचना केन्द्रदेखि स्थानीय तहसम्म पुगेको तर अहिले ती संरचनाले काम गर्न नसकेको उनले बताए ।

‘नेपाल सरकारको संरचना जसरी केन्द्रदेखि पालिकासम्म फैलिएको छ हाम्रो संरचना पनि त्यसरी नै फैलिएको छ । सुरुमा हामीले नेपाल सरकारसँगै मिलेर काम गरेका थियौँ । महासंघले गर्न सक्ने काम र नेपाल सरकारलाई महासंघको आवश्यकता महासुस भएको ठाउँमा हामीले एक आर्कासँग हातेमालो गरेर अगाडि बढेका थियौँ । अहिले त्यो सहकार्यमा दरार आएको छ’, उनले भने । साथै उनले त्यही दरार कम गर्दै पुनः नेपाल सरकारको सहकर्मी भई काम गर्ने बातावरण बनाउन आफू उमेदवार बनेको बताए ।

यो भन्दा पहिला महासंघको क्षेत्रीय अध्यक्ष भएर काम गरिसकेका दुलाल इटहरीका व्यवसायीहरुमा चिरपरिचित नाम हो । योसँगै उनले उद्योग वाणिज्य संघ इटहरीमा रहेर पनि कुसलतापुर्वक आफ्नो जिम्मेवारी पुरा गरिसकेका छन् । उनले रानीदेखि किमाथांका जोड्ने सडक बनाउन पनि महात्वपुर्ण भूमिका निर्वाह गरेका छन् ।