काठमांडौः मंसिर २ गतेबाट काठमाडौमा खुला सडकमा भोजन वितरण नगरिने भएको छ ।

स्वास्थ्य क्षेत्रको जोखिम, सङ्क्रमणको सम्भावना र मानवअधिकारको संरक्षण गर्ने उद्देश्यले त्यस्तो सेवा सडक क्षेत्रबाट कुनै बन्द संरचना भित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने जनाइएको छ ।काठमाडौँ महानगरपालिका र भोजन सेवा सञ्चालन गर्ने संस्थाबीच भएको छलफलले उक्त निर्णय गरेको र आगामी दुई गतेबाट भने बन्द संरचनाभित्र व्यवस्थित रुपमा सेवा सञ्चालन हुने सडकमा खाना खुवाउँदै आएको हाम्रो टिम नेपालका संयोजक विमल पन्तले जानकारी दिए ।

हाम्रो टिम नेपालले खुलामञ्चमा खाना वितरण गर्दै आएको छ । असहाय, अशक्त र शारीरिक रुपमा काम गर्न नसक्नेलाई मानवसेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको प्रबन्ध गरिएको र आवश्यक समन्वयका लागि नजिककका वडा कार्यालय वा सिधै आश्रममा सम्पर्क गर्न काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ । उक्त आश्रम काठमाडौँ महानगरपालिकाको सहकार्यमा सञ्चालित छ । आश्रमका अध्यक्ष रामजी अधिकारीले त्यस्ता सडक मानवलाई यसअघि सेवा दिइरहेको र आगामी दिनमा पनि सेवा दिन तयार रहेको जानकारी दिए ।

मुलुकका २२ शाखामार्फत अहिले झण्डै एक हजार २०० ले यसरी सेवा पाइरहेका छन् । अधिकारीले महानगरको सहकार्यमा उपत्यकालाई सडक मानवरहित बनाउने अभियान जारी रहेको बताए । सडकमा मजदूरलाई खाना खुवाउँदै आएको संस्था हाम्रो टिम नेपालका संयोजक पन्तले अहिले सडकमा खाना खुवाउने क्रम जारी रहेकाले महानगरसँग सहकार्य गरेर मङ्सिर दुई गतेबाट थप व्यवस्थित गरिने जानकारी दिए । -रासस