इटहरीः पाँचथर र ताप्लेजुङमा ३२ ओटा ठूला बजेटका सरकारी आयोजना सञ्चालनमा रहेकोमा निर्माण कार्यमा देखिएको ढिलासुस्तीका कारण निर्माण कार्यमा अपेक्षाकृत प्रगति हुन सकेको छैन ।

एक अर्ब १५ करोड रुपैयाँका योजना निर्माण गरिरहेका दुवै जिल्लामा हालसम्म ३० प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको छ । जबकि दुवै जिल्लामा पाँच ओटा मात्र बहुवर्षे योजना रहेका छन् । पाँचथरमा तीन र ताप्लेजुङमा दुई बहुवर्षे आयोजना सञ्चालित छन् । अन्य आयोजना यसै वर्ष सम्पन्न गर्नुपर्ने बाध्यताका बावजुद निर्माणको जिम्मा पाएको पूर्वाधार विकास कार्यालय पाँचथरले ३० प्रतिशत मात्र निर्माण सम्पन्न गरी आयोजना अलपत्र पारेको छ ।

ठेकेदारको ढिलासुस्ती र कोरोना महामारीका कारण निर्माण सम्पन्न हुन नसकेको पाँचथरका पूर्वाधार विकास कार्यालय प्र्रमुख ललितकुमार चौधरीले बताए । उनका अनुसार जिल्लामा सञ्चालित ३४ ओटामध्ये १७ ओटा र दुई जिल्लाको सीमामा पर्ने दुई ओटा पुल निर्माणको काम सम्पन्न हुन सकेको छैन । यता, ताप्लेजुङमा सञ्चालित २८ मध्ये १३ आयोजनाको निर्माणमा ढिलाई भएको छ । बहुवर्षे आयोजनाका रुपमा सञ्चालित सडक निर्माणको काम जारी रहेको छ ।