इटहरीः लामो लकडाउनका कारण रोजगारी गुमाएका सर्वसाधारणलाई काठमांडौको खुलामञ्चमा निःशुल्क भोजन उपलब्ध गराउँदै आएको हाम्रो टिम नेपालले तिहारको भाइटिकाको अवसरमा आज सार्वजनिक भाइटिकासमेत आयोजना गरेको छ ।
लकडाउनका कारण घर जान नपाएका सर्वसाधारणलाई टिमले खुलामञ्चमै भाइटिका लगाइदिएको हो । टिमकी संस्थापक सदस्य कविता पौडेलका अनुसार तिहारमा भाइटिका लगाउन नपाउने दाजुभाइलाई टिमले भाइटिका लगाउने अवसर जुराइदिएको हो । टिमले भाइटिका लगाउन आउने सर्वसाधारणलाई मखमलीको माला र ढाका टोपीका साथमा सप्तरङ्गी टिका लगाइदिएको उनको भनाइ छ । टिमले दसैँका अवसरमा पनि टिका लगाउने कार्यक्रम राखेकोमा भाइटिकामा पनि निरन्तरता दिएको हो ।
यसैबीच, काठमांडौ महानगरपालिकाको अनुरोधमा टिमले भोलिदेखि भने खुलामञ्चमा खाना खुवाउने कार्यक्रम नगर्ने भएको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा खुला रुपमा खाना वितरण गर्दा सर्वसाधारणको स्वास्थ्य जोखिममा पर्न सक्ने भन्दै निःशुल्क खाना अभियानलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने बताएपछि भोलिदेखि खुलामञ्चमा खाना वितरण नहुने भएको हो । स्वस्थकर तरिकाले व्यवस्थित ठाउँमा गरिने खाना वितरणमा महानगरपालिकाले नै खर्च व्यवस्थापन गरिदिने उनको भनाइ छ ।