विज्ञानका लागि नयाँ रहेको एक प्रकारको बाँदर म्यान्मारको विकट क्षेत्रमा रहेको वनमा फेला परेको छ ।

म्यान्मारस्थित पोपा पर्वतमा फेला परेका कारण पोपा लङ्गुर नामाकरण गरिएको बाँदरको उक्त प्रजातिको सङ्ख्या दुई सयको हाराहारीमा छ। लङ्गुर पात खाने बाँदर हो र यो दक्षिणपूर्वी एसियामा पाइन्छ । हालसालै मात्रै पत्ता लागेको यो नयाँ जनावरका आफ्नै विशेषता छन् । आँखा अनि आँखा बाहिरको भाग चस्मा जस्तै गोला आकारका छन् भने यसको रौँ खैरो रङ्गको छ । यो जनावर आफू बसिरहेको आवास गुमाउने अनि शिकारको जोखिममा छ । जङ्गली बाँदरको दिसाबाट निकालिएको डीएनए परीक्षणका आधारमा वैज्ञानिकहरूले म्यान्मारमा नयाँ प्रजाति फेला पर्नसक्ने अनुमान लामो समयदेखि गर्दै आएका थिए ।

popa langur1

वैज्ञानिकहरू यो बाँदरको बारेमा निकै कम जानकारीका लिएर लन्डन, न्यूयोर्क अनि सिङ्गापुरस्थित प्राकृतिक इतिहास सङ्ग्रहालयहरूमा राखिएका नमुना अध्ययनमा लागे । मान्मारमा त्यसअघि खोज गरेकाले बाँदरको नमुना सङ्कलन गरेका थिए जसको विस्तृत रूपमा परीक्षण भने गरिएको थिएन । अनुसन्धानकर्ताहरूले डीएनए निकाले अनि पुच्छर र कानको लम्बाइ जस्ता शारीरिक अङ्गको लम्बाइ नापेर जङ्गली बाँदरहरूसँग तुलना गरे । जसबाट म्यान्मारको मध्य भागमा रहेको वनको एउटा निश्चित भागमा मात्रै फेला पर्ने नयाँ प्रजाति पोपा लङ्गुर पत्ता लाग्यो । वैज्ञानिक रूपमा यो प्रजातिको वर्णन गरिनुले यसको संरक्षण गर्न सहयोग गर्ने एउटा संरक्षण समूह फाउना एन्ड फ्लोरा इन्टरन्याश्नलका फ्र्याङ्क मोम्बर्ग भन्छन् । 

उनले बीबीसीलाई भने, 'भर्खरै मात्रै पहिचान गरिएको पोपा लङ्गुर अहिले नै लोपोन्मुख छ । यसकारण बाँकी रहेका जनावरहरूको संरक्षण गर्न आवश्यक छ र यसको भविष्य रक्षा गर्नका लागि स्थानीय समुदाय र निजी क्षेत्रका रोकारवालाहरूसँग पनि जोडिन जरुरी छ ।' नयाँ प्रजातिका दुई सयदेखि दुई सय ५० जनावर मात्र रहेको र ती पनि चारवटा छुट्टै झुन्डमा बस्ने बताइएको छ । पछिल्लो दशकमा म्यान्मार वैज्ञानिकहरूसँग अन्तर्राष्ट्रिय सहकार्यका लागि खुला हुँदै गएको छ ।

यसले सरीसृप र उभयचरसहित विज्ञानका लागिसमेत नयाँ प्रजाति पत्ता लागेका छन् । तर यो नरवानरको खोज भने निकै दुर्लभ मानिन्छ । जर्मनीस्थित प्राइमेट जेनेटिक्स ल्याबरेटोरीका क्रिस्टीएन रुसले यी प्राणीहरूले आफ्नो वासस्थान गुमाउन सक्ने र शिकारको खतराको सामना गर्नु परेको बताएका छन् । 'शिकार ठूलो समस्या हो तर त्योभन्दा पनि ठूलो खतरा भनेको उनीहरूको वासस्थान लगभग हराइसकेको छ र मानव अतिक्रमणका कारण उनीहरू बस्ने स्थान घटेको, खण्डीकृत अनि अलग भएको छ' उनले भने ।अनुवंशसम्बन्धी वैज्ञानिक अध्ययनले पोपा लङ्गुर करिब १० लाख वर्षअघि अन्य ज्ञात प्रजातिबाट अलग भएको पत्ता लगाएको छ । -बीबीसी