इटहरीः नेकपाभित्र चुलिएको आन्तरिक विवादका कारण पार्टी अध्यक्षका रुपमा सोको निरुपणका लागि दौडधुपमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङ भ्रमण स्थगित भएको छ ।
आगामी मंसिर ५ गते ताप्लेजुङ भ्रमणको पूर्वनिर्धारित कार्यतालिका प्रधानमन्त्री ओलीको व्यस्तताका कारण अनिश्चित बनेको हो । घुन्सामा सम्बोधन तथा नेपाल–चीन सीमावर्ति क्षेत्र टिप्ताला भन्ज्याङ र ओलाङचुङगोलामा रहेका बोर्डर आउट पोष्टको भ्रमण एवम् घुन्सा फाउन्डेसनको नवनिर्मित भवन उद्घाटनको कार्यतालिकासहित भ्रमणमा आउन लागेका ओलीको भ्रमण आकस्मिक रुपमा स्थगित भएको हो ।
भ्रमण स्थगित भएको जानकारी प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईँबाट पाएपछि भ्रमणको तयारीका लागि भ्रमणस्थलतर्फ जाने तयारीमा रहेका सदरमुकाम फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल सहितका सबै समर्थक सदरमुकामै रोकिएका छन् । प्रजिअ चापागाईँका अनुसार भ्रमण स्थगनबारे प्रधानमन्त्रीको सचिवालयले उनलाई मौखिक रुपमा जानकारी दिएको हो । उनले भने,‘प्रधानमन्त्रीज्यूको कार्यक्रम आएको थियो,’ उनले भने, ‘मौखिक रूपमा कार्यक्रम स्थगित भएको जानकारी आएको छ ।’