इटहरीः लकडाउनका कारण काठमांडौमा रोजगारी गुमाएर अलपत्र परेका सर्वसाधारणलाई निःशुल्क खाना वितरण गर्दै आएको हाम्रो टिम नेपालले अभियानलाई निरन्तरता दिएको छ ।
स्वास्थ्य जोखिमका कारण आजदेखि खुलामञ्चमा खाना वितरण नगर्न भन्दै काठमांडौ महानगरपालिकाले वितरणमा रोक लगाए पनि टिमले वितरणलाई निरन्तरता दिएको हो । हाम्रो टिम नेपालका अध्यक्ष बिमल नेपालका अनुसार महानगरपालिकाले स्वास्थ्य जोखिम हुने बताएपछि टिमले खुलामञ्चमा खाना वितरण बन्द गर्ने सम्झौता गरेको थियो । तर ठाउँको व्यवस्था नभएकाले हाललाई खुलामञ्चबाटै वितरण गर्नुपरेको उनको भनाइ छ ।
खाना प्याक गरेर वितरण गर्न खोजेपनि सर्वसाधारणको भिडका कारण पुरानै शैलिमा खाना वितरण गरिएको पन्तले उल्लेख गरे । खुलामञ्चमा भइरहेको निःशुल्क खाना वितरणमा महानगरपालिकाले रोक लगाउन खोजेको भन्दै सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन् । लकडाउनका कारण रोजगारी गुमाएका उनीहरु सरकारले रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग गर्छन् । आम्दानीका सबै विकल्प बन्द भएपछि निःशुल्क वितरण गरिएका खाना खाएर जीवन धान्नु परेको उनीहरुको दुखेसो छ ।
हाम्रो टिम नेपालले चैत १४ गतेदेखि खुलामञ्चमा निःशुल्क खाना वितरण सुरु गरेको हो । महानगरपालिकाले भने व्यवस्थित तरिकाले उपयुक्त ठाउँमा खाना वितरण गरे खर्च व्यवस्थापनमा सहयोग गर्ने बताएको छ ।