इटहरीःओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाले स्थानीय किसानहरुलाई हेल्भेटास नेपाल नामक गैर सरकारी संस्थासँग समन्वय गरी निःशुल्क रुपमा कृषि सामग्री उपलब्ध गराएको छ ।

गाउँपालिकाका हरेक वडाका २० जनाका दरले एक सय ८० जनालाई जनही एक एक ओटाका दरले प्लाष्टिक पोलिहाउस र सिँचाइ सेट वितरण गरिएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर रोकाले बताए । उनका अनुसार कृषि तथा पशु सेवा कोभिड १९ विशेष सहयोग कार्यक्रम अन्तर्गत गाउँपालिकाका कृषकलाई कृषि सामग्री वितरणका अतिरिक्त स्थानीय तहले पशु प्रयोगशाला स्थापनाका लागि आवश्यक यन्त्र, उपकरण र सामग्रीहरुको व्यवस्था र कृषि उपज संकलन तथा बिक्री केन्द्रका लागि सहयोग सामग्री समेत वितरण गरेको छ ।

वितरण गरिएका सामग्रीको कुल लागत ४९ लाख १७ हजार पाँच सय रुपैयाँ रहेको गाउँपालिकाले जनाएको छ । सामग्रीको उपयोगबाट कृषि समूहहरुले गर्ने उत्पादनमा भएका प्रगतिको गाउँपालिकाले अनुगमन गर्ने जनाइएको छ ।