इटहरीः प्रदेश १ सरकारको ७० प्रतिशत लगानी अर्थात् तीन करोडको लगानीमा तेह्रथुमको म्याङलुङ नगरपालिकामा चिस्यान केन्द्र निर्माण भएको छ ।

जिल्लाकै सदरमुकामसमेत रहेको म्याङलुङमा किराँत याक्थुम चुम्लुङ कृषि सहकारीले सो चिस्यान केन्द्रको निर्माण सुरु गरेको हो । नगरमा उत्पादन भएका कृषि उपजलाई भण्डारण गर्ने उद्देश्यका साथ सो चिस्यान केन्द्रको स्थापना गरिएको हो । प्रदेश सरकार र नगरपालिकाको सहयोगमा सो चिस्यान केन्द्रको निर्माण गरिएको कियाचु कृषि सहकारीका अध्यक्ष तेजमान कन्दङ्वाले जानकारी दिए । उनले म्याङलुङ नगरमा उत्पादन भएका कृषि उपजलाई बजारसम्म पुर्याउनुभन्दा अगाडि यहाँ राखिने बताए ।

‘हामी सहकारी, प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा यो चिस्यान केन्द्र निर्माण गर्दैछौँ । यसमा हाम्रो ३० प्रतिशत लगानी छ र प्रदेश सरकारको ७० प्रतिशत लगानी छ । यो हामीले यहाँ उत्पादन भएका कृषि उपजलाई बजार पुर्याउनुभन्दा अगाडिसम्म राख्नको लागि सुविधा होस् भनेर निमार्ण गरेका हौँ’, उनले भने । साथै उनले यहाँ नगरबाहिरका कृषकका उत्पादनलाई पनि राखिने जानकारी दिए ।

म्याङलुङ नगरपालिकाका नगरप्रमुख संजयकुमार तुम्वाहाङफेले प्रदेश सरकारले चिस्यान केन्द्र बनाउन सूचना जारी गरेको र यहाँको आश्यकता पनि रहकेकाले सो केन्द्रको स्थापना गरिएको जानकारी दिए । ‘प्रदेश सरकारले चिस्यान केन्द्र बनाउन सूचना जारी गर्यो । हामीले यहाँ रहेको कियाचु कृषि सहरकारीसँग सहकार्य गरेर बनाउने सम्झौता गयौँ’, उनले भने । उनले यहाँका किसानालाई चिस्यान केन्द्र अत्यावश्यक रहेकाले प्रदेश सरकारसँग समन्वय गरेको बताए ।

कियाचु सहकारीका सचिव कृष्ण चुम्वाङले यो चिस्यान केन्द्र स्थापना भइसकेपछि यहाँ उत्पादन हुने आलू, अदुवा लगायतका कृषि उपज खेर नजाने बताए । साथै कम मूल्य भएको समयमा यहाँ भण्डारण गरेर बढी मूल्य भएको समयमा बिक्री गर्न सकिने उनले जानकारी दिए ।