इटहरीः ठेकेदारको लापरबाहीका कारण मोरङको रंगेली नगरपालिकामा निर्माण गरिएको कालोपत्रे सडक निर्माण सम्पन्न नहुँदै जीर्ण बन्न थालेको छ ।

२०७६ असार २० गतेभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने सर्तमा नगरपालिकाबाट ९० लाख ३५ हजार पाँच सय ९४ रुपैयाँमा ठेक्का पाएको सप्तरीको निकिता राज कन्स्ट्रक्सन प्रा.लि.ले समयमा निर्माण सम्पन्न नगर्नुका साथै गुणस्तर नियमित गर्ने कार्यमा समेत चरम लापरबाही गरेको छ । मालपोत कार्यालय अगाडि निर्माणाधीन सडकको कालोपत्रे गर्नुअघि गरिने प्राइमकोड अर्थात् अलकत्रा छर्ने कार्य गुणस्तरहिन भएको हो ।

स्थानीय किशन सोनीका अनुसार सडकमा प्रयोग गर्नुपर्ने अलकत्रा मापदण्डविपरीत प्रयोग हुँदा सडक संरचना कमजोर बन्ने देखिएको छ । ठेकेदार कम्पनीका प्रतिनिधि दिनेश साह आफैँले निर्माण गरिरहेको सडकको गुणस्तर निम्न स्तरको भएको प्रति जवाफ दिनबाट पन्छिएका छन् । रंगेलीका मेयर दिलिप बगडियाले भने सडकको गुणस्तर मापदण्ड अनुरुपको कायम गरिने बताएका छन् ।

हाल गरिएको निम्न गुणस्तरको प्राइम कोड हटाई पुनः प्राइमकोड लगाउन ठेकेदार कम्पनीलाई निर्देशन दिइएको बताउँदै बगडियाले त्यसो नगरेसम्म सडक निर्माणको काम अगाडि बढाउन नदिइने स्पष्ट पारे ।