इटहरीः मोरङको विराटनगरस्थित रानी भन्सार नाकाबाट पछिल्लो तीन महिनामा धान र चामलको उल्लेख्य परिमाणमा आयात भएको छ ।

सो अवधिमा एक अर्ब सात करोडभन्दा बढी मूल्यका धान चामल आयात गरिएको भन्सार कार्यालयको तथ्याङ्क छ । पछिल्लो तीन महिनामा नाकाबाट १ करोड ७९ लाख ५६ हजार किलो चामल आयात भएको छ । जसको मूल्य ७३ करोड ७९ लाख ५३ हजार रुपैयाँ रहेको भन्सार कार्यालयले जनाएको छ । यसैगरी सोही अवधिमा आयात भएको १ करोड २० लाख १३ हजार किलो धानको मूल्य ३४ करोड ९ लाख ३८ हजार रहेको कार्यालयको तथ्याङ्क छ ।

कात्तिक २० गते सम्मको अभिलेख अनुसार १४ लाख रुपैयाँको चामल र २५ लाख रुपैयाँको धान आयात भएको देखिएको छ । आर्थिक वर्ष २०७५/०७६ मा रानी भन्सारबाट एक अर्ब ६५ करोड ६ लाख ९३ हजारको चार करोड ४१ लाख आठ हजार किलो चामल र चार करोड ९६ लाख ५२ हजार किलो धान आयात भएको थियो । आयातित चामलको मूल्य एक अर्ब ६५ करोड ६ लाख ९३ हजार र धानको मूल्य एक अर्व ४५ करोड ९७ लाख ९५ हजार रुपैयाँ रहेको कार्यालयको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७६/०७७ मा आयात गरिएको ३ करोड ८४ लाख ५२ हजार किलो धानको मूल्य १ अर्व ३३ करोड ३२ लाख १० हजार रुपैयाँ र सोही वर्ष आयातित ३ करोड ८ लाख ९८ हजार किलो चामलको मूल्य एक अर्ब ३७ करोड ८९ लाख ७६ हजार रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।