इटहरीः झापाको बेलडाँगी र मोरङको पथरीशनिश्चरेमा रहेका भुटानी शरणार्थी शिविरमा आश्रित शरणार्थीहरुको दर्ता प्रकृया पुनः सुरु भएको छ ।

डेढ वर्षअघि सरकारले पूर्वगृहसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठन गरेको शरणार्थी समस्या समाधानसम्बन्धि समितिको सिफारिस अनुसार पुनः दर्ता प्रकृया सुरु गरेको हो । समितिले शरणार्थीलाई नागरिकका रुपमा रुपान्तरण गर्न नसकिए पनि अस्थायी नागरिकता दिएर जीवनयापन सहज बनाउन सकिने सुझाव दिएको थियो । दैनिक आवश्यकता पूर्तिका लागि आयआर्जनका सामूहिक गतिविधिमा शरणार्थीलाई सहभागी गराउन सामूहिक खेतिका लागि जग्गा भाडामा उपलब्ध गराउने, खुला बजारमा श्रम गर्न छुट दिनेजस्ता विकल्प समितिले सुझाएको थियो ।

भुटानी शरणार्थीको व्यक्तिगत घटना तथा जनसंख्याको अभिलेख अद्यावधिक गर्न फोटो सहितको विवरण संकलन गरी दर्ता गर्न लागिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । स्थानीय बसोबास वा तेस्रो मुलुक पुनर्वासको निर्णय सरकारले नगरेको भन्दै उनले यो दर्ता सो प्रयोजनका लागि नभएको प्रष्ट पारे । सरकारले घरफिर्तीको प्रयास जारी राखेको बताउँदै उनले तत्कालीन आवश्यकता पूर्तिका लागि विवरण अध्यावधिक राख्न लागिएको बताए । मोरङको पथरी–शनिश्चरे शरणार्थी शिविरका सचिव चम्पासिंह राईले आफ्नो शिविरअन्तर्गत रहेकालाई सामूहिक खेती, कृषि उत्पादनसहितको जीविकोपार्जनको उपाय सिकाउन थालिएको जानकारी दिए ।

‘काठमाडौंबाट गृह मन्त्रालयका पदाधिकारी आएर दर्ताको प्रक्रिया र जीविकोपार्जनका उपायबारे बताउनुभएको थियो,’ उनले भने, ‘घरफिर्तीको कुरा अब देखावटी भइसक्यो, यहाँ रहेका दर्तावाल शरणार्थीमध्ये ६० प्रतिशतभन्दा बढी पुनर्बसोबासमा तेस्रो देश जान चाहन्छन् । यसतर्फ पनि सरकारले ध्यान तानिएको हुन सक्छ ।’ यता दमक, बेल्डाँगीस्थित शिविरका सचिव कृष्ण लिङ्देनले अर्को चरणमा सुरु भएको शरणार्थी दर्ता प्रक्रियाबारे आफू जानकार नरहेको बताए ।

‘पहिलेको रेकर्ड र दर्ताको पछिल्लो अभिलेख राष्ट्रसंघीय शरणार्थी उच्च आयोग (यूएनएचसीआर) ले राखेको हो । अहिले फेरि फोटोसहितको दर्ता प्रक्रिया थालिएको र पुनर्बसोबास वा स्थानीय बसोबासको व्यवस्था गर्न लागिएको बारे मेरो तहमा केही भनिएको छैन,’ उनले भने । भुटानी शरणार्थीको गाँस, बास, कपाससहित मानवीय सहयोगमा ३ दशकयता समन्वय गर्दै आएको यूएनएचसीआरले आगामी डिसेम्बरको अन्त्यबाट सम्पूर्ण सहयोग तथा अनुदान कटौती गर्दै दमक, झापास्थित आफ्नो कार्यालय बन्द गर्ने जानकारी यसअघि नै दिइसकेको छ ।