इटहरीः तेह्रथुममा ढाकाका कपडाको व्यापारमा गिरावट आएको छ ।

विगतका वर्षमा चाडपर्वका बेला लाखौँ रुपैयाँका ढाकाका कपडाको कारोबार हुने गरेको तेह्रथुममा यस वर्ष कोरोना महामारीका कारण यसको बिक्री प्रभावित भएको हो । यस क्षेत्रमा उत्पादन हुने ढाकाका कपडा हस्तकलाका माध्यमबाट कुनै यान्त्रिक उपकरणको प्रयोग नगरी मौलिक कलाको प्रयोग गरी उत्पादन गर्ने गरिन्छ ।

मौलिक प्रविधि र स्थानीय कच्चा पदार्थका कारण तेह्रथुममा उत्पादित कपडा देशभर अत्याधिक रुचाइने गरेको छ । यहाँ उत्पादित ढाकाले नेपालका अतिरिक्त बेलायत, सिंगापुर, भारत लगायतका अन्तर्राीष्ट्रय बजारमा पनि राम्रो स्थान बनाएको छ । ढाका कपडाको उत्पादन र बिक्रीबाट यहाँका स्थानीयले मनग्य आम्दानी गर्दै आएका थिए ।

जिल्लाको समग्र आयमा समेत ढाका व्यवसायको ठूलो हिस्सा रहने गरेको थियो । तर अहिले व्यापारमा मन्दी आएको व्यवसायीहरुको अनुभव छ । गत वर्ष दशैं–तिहारको समयमा १२ लाख रुपैयाँ बढीको बिक्री भएको ढाका कपडा यस वर्ष एक लाखको पनि बिक्री नभएको उज्वलता ढाका कपडा उद्योगका सञ्चालक उज्वलता सुब्बाले बताए ।

ढाका कपडाको व्यापारलाई प्रवद्र्धन गर्न सरकारले स्थानीय स्तरका उत्पादनको बजारीकरणको व्यवस्था मिलाउनु आवश्यक छ । यसैगरी, व्यावसायिक उत्पादन गर्न चाहनेलाई सहुलियत दरमा कर्जा प्रवाह गर्न सके व्यवसायले राम्रो फाइदा दिन सक्ने देखिन्छ ।