इटहरीः आज नोभेम्बर २५ । विश्वभर महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।

यसै सिलसिलामा नेपालमा पनि विभिन्न कार्यक्रम गरी अभियानलाई भव्यताका साथ मनाइने भएको छ । विश्वव्यापी कोरोना महामारीको प्रकोप अझै नियन्त्रणमा आउन नसकेको अवस्थाका बीच मनाउन लागिएको अभियानका क्रममा पनि कोरोना कहरबाट मुक्तिका लागि जनचेतनामूलक कार्यक्रम गरिने भएको छ । यस वर्षको अभियानले महामारीका समयमा हुनसक्ने महिला हिंसाका घटनाको न्यूनीकरणका साथै महिलाका लागि आवश्यक आधारभूत स्वास्थ्य सेवा तथा सुरक्षित वातावरणको सुनिश्चितताका लागि अभियानमार्फत् पहल गर्ने संयुक्त राष्ट्रसंघको लक्ष्य रहेको छ ।

नेपालमा यो अभियान २०५४ सालदेखि मनाउन सुरु गरिएको हो । यस अभियानको उद्देश्य महिला तथा बालबालिकाको मानवाधिकारको संरक्षणका साथै समानता र सहअस्तित्वको सिद्धान्त अनुसार राज्यका विविधि क्ष्ोत्रमा उनीहरुको पहुँच अभिवृद्धि गर्ने रहेको छ । यस वर्षको अभियानको विश्वव्यापी नारा ‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ तय गरिएको छ ।

यसैबीच, अभियानको सुभारम्भका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशवासीका नाममा एक सन्दैश जारी गरेकी छन् । सन्देशमा उनले समाजका सबै पक्षको समान सहभागितामा मात्र जघन्य हिंसाका घटना नियन्त्रण गर्न सकिने विचार व्यक्त गरेकी छन् । उनले घरेलु हिंसा, मानव बेचबिखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, एसिड आक्रमणका साथै बलात्कारजस्ता जघन्य हिंसा निर्मूल गर्न सबै सक्रिय हुनुपर्ने बताएकी छन् । सन्देशमा भनिएको छ, “हिंसामुक्त, समृद्ध र न्यायपूर्ण समाज निर्माणका लागि महिलाको समान अग्रसरता र नेतृत्वदायी भूमिकासहित सम्पूर्ण महिलाले आत्मसम्मानको अनुभूति हुने वातावरण निर्माण गरिनुपर्छ । ”