इटहरीः मोरङको बेलबारी नगरपालिका वडा नम्बर ६ ले किसान लक्षित कार्यक्रमको घोषणा गरेको छ । वडा कार्यालयले वडालाई मकै जोन नै घोषणा गरेर कार्यक्रम अगाडि बढाएको छ । किसानलाई तीन चरणमा सहयोग गर्ने गरि वडाले कार्यक्रम ल्याएको वडाध्यक्ष उदय बहादुर राईले जानकारी दिए । उनले बेलबारी नगरपालिकामा स्थानीय तहको निर्वाचनपछि पहिलो वर्षमा नै नगरपालिकाका वडालाई कृषिको दृष्टिकोणले विभिन्न पकेट क्षेत्र घोषणा गरेर अगाडि बढेको बताए ।

भौगोलिक तथा माटोको हिसाले वडामा मकैको खेति फस्टाउने देखेर मकै जोनको रुपमा सुरु गरेको उनले जानकारी दिए । उनका अनुसार किसानलाई मकैको विउदेखि बजारीकरणसम्म नगरको समन्वयमा किसानलाई सहजीकरण र सहयोग गरिने छ । तीन चरणमा सहयोग गर्दा किसान र अनुदान दिने निकाय दुबैलाई उतरदायी बनाउने राईको भनाई छ । वडाको लगानि खेर जान नदिन तीन चरणको कायक्रम ल्याएको उनले जानकारी दिए ।

 वडाले मकै पकेट क्षेत्र नै घोषणा गरेर अनुदान दिन थालेपछि किसानहरु पनि खुशी भएका छन् । उनिहरुले मकै रोप्दा देखि बजारसम्म पुराउन नै वडाले सहयोग गर्ने भएपछि मकैको खेति गर्न उत्प्रेरित भएको बताएका छन् । साथै किसानहरुले अन्य बालि लगाउँदा भन्दा मकै लगाउँदा फाइदा हुने आँकलन गरेको पनि जानकारी दिएका छन् । वडाले मकै खेतिमा सहयोग गर्ने भएपछि यहाँका किसानहरु बाँजो जमीनमा खेति गर्न सुरु गरेका छन् । किसानहरुले अनुदानको सदुपयोग गर्नकै लागि समुह बनाएर पनि मकै खेति गर्न थालेका छन् । कोरोनाका कारण अन्य ठाउँबाट रोजगारि गुमाएर घर फर्किकाहरु पनि मकै खेति तर्फ आकर्षित हुन थालेका छन् ।