झापाः जिल्ला प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्ष २०७५/०७६ को बितेको २ महिनामा सम्पादन गरेका काम सार्वजनिक गरेको छ । साउन र भदौ महिनामा प्रहरी कार्यालयबाट सम्पादन गरिएका मुख्य कामहरूमा भन्सार चोरी तस्करी नियन्त्रण, नदीजन्य वस्तु तथा काठ नियन्त्रण, विष्फोटक पदार्थ, लागुऔषध नियन्त्रणलगायत रहेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
प्रहरी उपरीक्षक ढकालका अनुसार सो अवधिमा ४९ लाख २३ हजार ४५ रुपैयाँ मूल्य बराबरका भन्सार चोरी तस्करी सामान नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको छ । २ लाख ३९ हजार रुपैयाँ मूल्य बराबरका गिटी, बालुवा, काठ, ६१ वटा चौपाया नियन्त्रणमा लिएर सम्बन्धित कार्यालयमा आवश्यक कारवाहीका लागि बुझाएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए । २ लाख रुपैयाँ मूल्य बराबरको पटकासमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
यसैगरी, प्रहरीले २ हजार ९ सय ६१ एम्पुल फेनारगन, डाएजीपाम र लुपिजेसिक, १ सय ६ ट्याब्लेट नाइट्रोजन, ब्राउन सुगर १ सय ग्राम ३ हजार ३ सय ३० मिलिग्राम र पियोमिन १४ थान जस्ता लागुऔषध नियन्त्रणमा लिएको जनाएको छ । यसमा संलग्न ५१ जना कारोबारीलाई समेत पक्रन सफल भएको ढकालले बताए ।
फरार ७५ जना पक्राउ
यसैगरी, फैसला कार्यान्वयन अन्तर्गत विभिन्न अपराधमा संलग्न रही फरार भएका ७५ जनालाई पक्रन झापा प्रहरी सफल भएको छ । जिल्लाका विभिन्न ठाउँमा हुने यौनजन्य गतिविधिलाई शून्यमा झार्ने उद्देश्यले शङ्कास्पद होटल, लज तथा रेष्टुरेन्टमा निगरानी बढाएको झापा प्रहरीले २ महिनामा जिल्लाका विभिन्न होटल, लज तथा रेष्टुरेन्टबाट ५३ जनालाई पक्राउ गरेको छ । यसलाई प्रहरीले शतप्रतिशत सफलता मिलेको दाबी गरेको छ ।
गम्भीर अपराधमा संलग्न १ सय ३९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको र गुण्डागर्दीमा संलग्न भएको भन्दै १ सय १० जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक ढकालले जनाए । झापा प्रहरीले पटक पटकगरी नेकपा विप्लव समूहका ९ जना कार्यकर्तालाई समेत पक्राउ गरेको जनाएको छ ।
२ सय बढी मुद्दा दर्ता
जिल्ला प्रहरी कार्यालय झापामा चालु आर्थिक वर्ष २०७५÷०७६ को २ महिनामा विभिन्न प्रकृतिका २ सय ६२ मुद्दा दर्ता भएका छन् । सबैभन्दा बढी साउनमा १ सय ४९ र भदौमा १ सय १३ मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।